काठमाडौँ । लियोनेल मेसीले पिएसजीमा प्रशिक्षण शुरु गरेसँगै अब पिएसजीमा डेभ्यु गर्छन भन्ने विषय धेरैको कौतुहलताको विषय बनेको छ ।
फ्रेन्च लिग वान शुरु भैसकेको छ भने पिएसजीले पहिलो खेलमा नेइमार र मेसी बिना खेलेको खेलमा स्ट्रासबोर्गविरुद्ध ४-२ गोल अन्तरले जित पनि हासिल गरिसकेको छ ।
मेसीले भने पिएसजीको यस सिजनको पहिलो खेलमा खेलेनन् तर उनी मैदानमा उपस्थित बह्येर आफ्नो परिवार र नेइमारसँग बसेर खेल हेरेका थिए ।
पिएसजीसँगको सम्झौतामा हस्ताक्षरपछि आफ्नो डेभ्यु कहिले हुन्छ भन्ने बारे आफुलाई थाहा नभएको बताएका थिए । कोपा उपाधि जितेपछि मैदान बाहिर रहेको र यसबीचमा बार्सिलोनाबाट बहिर्गमन र पिएसजी आगमन भएकाले उनले मानसिक रुपमा मैदानमा फर्किन केहि समय लाग्ने संकेत गरेका थिए ।
मेसीले एक अन्तर्वार्ताका क्रममा आफुलाई पिएसजीको ड्रेसिङरुममा मुश्किल नहुने बताएका थिए । प्रशिक्षक माउरिसियो पोचेट्टीनो पनि अर्जेन्टिनाकै भएको र धेरै जसो प्रशिक्षण टिमका स्टाफ पनि अर्जेन्टिनाकै रहेकाले सजिलो हुने बताएका थिए । साथै पिएसजीको टिममा पनि अर्जेन्टिनाकै एन्जल डी मारिया, माउरो इकार्डी लगायतका खेलाडी रहेको तथा मेसीका मिल्ने साथी नेइमार रहेकाले पनि खेलाडीसँग घुलमिल गर्न गाह्रो नहुने उनले नै बताएका थिए ।
अब पिएसजीको अर्को खेल २० अगस्तमा ब्रेस्टविरुद्ध, अगस्त २९ मा रेइम्सविरुद्ध र सेप्टेम्बर १२ मा क्लेरमोन्ट फूटविरुद्ध खेल्दै छ ।
यस बिचमा अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गत भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने भएकाले मेसीले त्य्सघी नै पिएसजीमा डेभ्यु गर्ने फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । अर्जेन्टिनाले सेप्टेम्बर ३ मा भेनेजुएला, सेप्टेम्बर ६ मा ब्राजिलसँग र सेप्टेम्बर १० मा बोलिभियासँग खेल्ने तालिका रहेको छ ।
त्यसैले मेसीले अब पिएसजीका लागि अगस्त २९ मा हुने रेइम्सविरुद्धको खेलमा डेभ्यु गर्ने भएका छन् । सो खेल अवे हुने छ ।









