• २०८३ मङ्सिर ८ मंगलबार

सरकारको ढुंगा-बालुवा निकासी योजना विवादमा, कसले के भने ?

सरकारको ढुंगा-बालुवा निकासी योजना विवादमा, कसले के भने ?

काठमाडौँ । यस बर्षको बजेटमा व्यवस्था गरिएको खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने भन्ने योजनाक व्यापक विरोध भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बजेटको बुँदा नम्बर १९९ मा व्यवस्था गरेका छन्- 'वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

यसको अर्थ सरकारले अब ढुंगा, गिटी, बालुवा भारततर्फ निकासी गर्ने र पैसा कमाउने भन्ने बुझिन्छ । यस योजनाको ठुला सबै दल र प्रमुख नेताहरुले नै खुलेर विरोध गरेका छन्  । बुधबार सरकारले यस योजनाका बारेमा स्पष्टिकरण दिने प्रयास गरेपनि राम्रोसँग बुझाउन भने अझै सकेको छैन ।

सरकारको यो योजना ल्याउनुको मनसाय राजनीतिक पनि होकी भन्ने आशंका गरिएको छ  ।

विवादका बीच बुधबार प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै हाल कारवाही गरिएका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य कैयौं नेताहरुले यो योजना राष्ट्र विरोधी भएको र तराई-मधेशलाई मरुभूमिकरण गर्ने योजना भएको भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएका छन्  ।

काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक विज्ञप्ति जारी तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गर्दै चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै भएको टिप्पणी गरेका हुन् ।

सभापति देउवाले अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई काँग्रेसले गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, 'विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् । विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।'

विज्ञप्तिमा देउवाले काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको स्मरण गराएका छन् ।

उनले भनेका छन्, 'ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो । सो निति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो । निश्चयनै देशले बर्सौंदेखि ब्यापार घाटा ब्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।'

देउवाले ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।  

प्रचण्डले भनेका छन्- 'असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस ।'

त्यस्तै माधवकुमार नेपालले भनेका छन्- सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ। 

यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो । आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ । त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गंभीर छ । 

चुरे क्षेत्रको संरक्षण नगरि तराईको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै मैले आर्थिक वर्ष २०६६।६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को आरम्भ गरेको हुँ र त्यसपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको छ ।
तसर्थ, चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती छ । यस्तो देश हित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन माग गर्दछु ।'

त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारको यो नीति वातावरणीय हिसाबले घातकसमेत रहेको बताएका छन् ।

उनले भनेका छन्,‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई र मधेशमा बसोबास गर्ने जनताले चुकाउनु पर्नेछ । व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती रहेको छ ।  यसले चुरे विनाश गर्ने र तराई-मधेशलाई मरुभूमिकरण गर्ने निश्चित छ ।’

सरकारको नीतिले नवधनाढ्यदेखि व्यवसायीलाई फाइदा भएपनि यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई र मधेशमा ठूलो प्राकृतिक संकट आउने दाबी उनले गरेका छन् ।

काँग्रेस नेता गगन थापाले त यसलाई नीतिगत भ्रष्ट्राचार भनेका छन् । उनले भनेका छन्, 'वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ । यो 'नीतिगत भ्रष्टाचार हो' । आफ्ना 'यार'लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ ।'

कडा प्रतिक्रियाका बीच अर्थ मन्त्रालय र वन मन्त्रालयले भने बुधबार स्पष्टिकरण दिदै यो विषय सामान्य विषय भएको जस्तो बताएका छन् ।

अर्थ मन्त्रालयले के भन्यो ?

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस विषयमा हाल व्यक्त भएका धारणाहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको हो । मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण गर्न र सम्बर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव दिन सचेत रहेको बताएको छ ।

मन्त्रालयले बजेटमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन बमोजिम चुरे. भावर. शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रको खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको बताएको छ ।

मन्त्रालयले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा लगायत निर्माण सामाग्री दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म रहेको बताएको छ ।

त्यस्तै मन्त्रालयले भनेको छ- 'सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरि प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका मापदण्ड एवं कानूनी प्रवन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नाप्रने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध छ ।'

वन मन्त्रालयले के भन्यो ?

वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने  नीति  रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुद्धिसागर पौडेलले चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको र दोहन रोक्नका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्रालय चुरे संरक्षणप्रति संवेदनशील छ  र वातावरणीय पक्षलाई ध्यान दिई यससँग सम्बन्धित नीति, कानून तथा मापदण्डहरुको पूर्ण परिपालना गर्न-गराउन प्रतिबद्ध छ ।” चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्ने मन्त्रालयले स्पष्ट गरेको छ । 

चुरे तथा वातावरण संरक्षणप्रति सरोकार  पक्ष, संरक्षणकर्मी, नागरिक समाज, अभियानकर्मीलगायत विभिन्न तह र क्षेत्रबाट व्यक्त भएको चासो र चिन्ताका विषयमा मन्त्रालयले उचित ध्यान दिई अगाडि बढ्ने योजना समेत बनाइएको जानकारी गराइएको छ ।

अर्थ मन्त्रालय र वन मन्त्रालयको स्पष्टिकरण पढ्दा ढुंगा-बालुवा निर्यात गर्ने योजना कार्यान्वयन गर्ने तर्फ नै सरकार प्रतिबद्ध रहेको जस्तो बुझिएको छ । यसले आउदा दिनमा यस विषयमा झन् विवाद बढाउने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै