काठमाडौँ । अमेरिकामा गत वर्षको बहुचर्चित जर्ज फ्लोयडको मृत्यु प्रकरणमा प्रहरी अधिकारी डेरेक चुविनलाई हत्याको दोषी पाइएको छ ।
चुविनले ४६ बर्षिय फ्लोयडलाई फिरफ्तार गर्नेक्रममा उनको गर्दनमा नौ मिनेटभन्दा बढी समयसम्म दबाएर राखेका थिए । सोहिक्रममा फ्लोयडको मृत्यु भएको थियो ।
अमेरिकामा यस घटनापछि नस्लभेदी बहस शुरु भएर ठुलो आन्दोलन समेत भएको थियो ।
यस घटनाको छानबिन गर्न गठित जुरीले केहि दिन देखि सुनुवाई गरिरहेकोमा आफ्नो फैसला सुनाउदै प्रहरी अधिकारी चुविनलाई दोषी करार गरेको छ । चुविन हाल हिरासतमा रहेका छन् भने उनलाई कस्तो सजाय हुन्छ भन्ने बारे सुनुवाई हुन भने बाँकी छ ।
यस घटनाको छानबिन र सुनुवाई गर्न १२ सदस्यीय जुरीको गठन गरिएको थियो ।
जुरीको फैसलापछि फ्लोयडको परिवारले न्याय मिलेको भन्दै खुशी व्यक्त गरेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले फ्लोयडको परिवारसँग कुरा गर्दै न्याय मिलेको संदेश दिएका छन् ।
राष्ट्रपति बाइडेनले हामीले अझै धेरै गर्न बाँकी रहेको भन्दै यो प्रणालीगत विभेदसँगको लडाईको पहिलो पाइला भएको बताएका छन् ।
फ्लोयडको गत बर्षको मे २५ मा एक ग्रसरी पसलमा चुरोट किन्न जादा पसलेसँग विवाद भएपछि प्रहरीले उनलाई गिरफ्तार गर्नेक्रममा घाटी थिचेर नौ मिनेटसम्म दबाएर राखेपछि उनको मृत्यु भएको थियो ।









