Skip This
  • २०८१ मङ्सिर ५ बुधबार

काठमाडौँमा एटिएमले दिन्छ पिउने पानी, कसरी चलाउने वाटर एटिएम ?

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ । ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो । 

काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ । त्यसो नभए चुपचाप बस्नुपर्छ । यसअघि राजधानीमा नागरिकले सहजरुपमा पानी पिउन पाउने अवस्था थिएन । पसलमा खरीद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महङ्गो हुने गरेको छ । 

प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई मध्यनजर गरेर सरकारले काठमाडौँ  महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने प्रणालीको विकास गरेको छ । सरकारले त्यसलाई वाटर एटिएमको नाम दिएको छ । 

एटिएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ । किनकी नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो । सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटिएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ । यसले आमरुपमा नागरिकलाई राहत दिनेछ । वाटर एटिएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ । 

खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विहिबारदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो । 

सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ । 

वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ । वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु दुई तिर्नुपर्नेछ । यस्तै एक लिटरका लागि र रु पाँच तिर्नुपर्छ ।

वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ । यस्तै तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ । उक्त एटिएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ । त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ । 

वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटिएम जडान गरिनेछ । राणाका अनुसार एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ । 

काठमाडौँमा पिउने पानीको समस्या विकराल भएको र सार्वजनिक स्थानमा त पाउन नै मुस्किल भएको सन्दर्भमा राखिने वाटर एटिएमले आम नागरिकलाई सहजरुपमा स्वच्छ पानी पिउने वातावरण बनाएको छ । 

विवरणअनुसार आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै काठमाडाँै ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ । 

खानेपानीमन्त्री थापाले नागरिकलाई सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने ध्येयका साथ वाटर एटिएम सञ्चालनमा ल्याइएको बताउनुभयो । मन्त्रालयका अनुसार वाटर एटिएमको लागत रु २ करोड रहेको छ । वाटर एटिएमको सुरक्षा र सञ्चालनमा सहजताका लागि आम नागरिक नै सचेत हुनुपर्नेछ । 

कसरी चलाउने वाटर एटिएम ?

वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।

क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ ।
ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।
ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ ।
घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ ।
ङ) कपलाई लगेर धाराको तल राख्ने ।
च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने ।
छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ ।
ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ ।
झ) १ लिटर पानी लिनु परे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउने । १ लिटर पानी प्राप्त हुन्छ ।
ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा फालिदिने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै