• २०८१ बैशाख १७ सोमबार

कोलकातामा भारत नेपाल सांस्कृतिक कार्यक्रम सम्पन्न

kharibot

काठमाडौँ । दीपावलीका अवसरमा भीरा प्रोडक्सन्श र दिलीप थापा डान्स एकेडेमी कोलकाताको आयोजनामा भारत नेपाल सांस्कृतिक कार्यक्रम आज साँझ सम्पन्न भएको छ ।

हावडा मैदान कोलकाताबाट आयोजित भर्चुअल कार्यक्रममा नेपाल र भारतका कलाकार तथा कविहरुले नेपाल र भारतका राष्ट्रिय गीत, देशभक्तिपूर्ण गीत, गणेश बन्दना, नृत्य एवं नेपाली र  बङ्गाली भाषामा कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट नरेन्द्र कोइराला, स्वजन रघुवंशी र नारायण रिजालका विद्यार्थीले नृत्य, शशिशेखर बुढाथोकीले गीत तथा श्याम रिमाल, तर्कना शर्मा र सन्ध्या कुँवरले नेपाली र  भारत कोलकाताबाट सोमा रायले बङ्गाली भाषामा कविता प्रस्तुत गरे । त्यस्तै भारतीय सङ्गीत एकेडेमीका मिता दे र काञ्चन दे,  भीरा प्रोडक्शन्सका कुमार आदित्य र रोविन दासले रवीन्द्र सङ्गीत र अन्य गीत, दिलीप थापा डान्स एकेडेमीका तर्फबाट आशा उपाध्याय बराल, शुभम थापा, सान्वी थापा तथा साथीहरुले देशभक्तिपूर्ण नृत्य एवं पञ्जाबी, भाङ्ग्रा र डाण्डिया नृत्य तथा  सागरिका चटर्जीको निर्देशनमा बङ्गाली र कसिस शाहले राजस्थानी नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा साहित्यकार, पत्रकार तथा समाजसेवी धर्मराज बरालले नेपाल भारतबीच विद्यमान शैक्षिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई जनस्तरमा अगाडि बढाउन दुवै देशका साहित्यिक तथा सांस्कृतिककर्मीले गरेको योगदानप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ अगाडि बढाउन दुवै देशका विभिन्न व्यक्तित्वसँग आग्रह गरे ।

नेपाली जनकल्याण समिति कोलकाताका सभापति बद्रीविक्रम थापाले कोलकातावासी नेपालीले दुई देशबीचको मित्रतालाई अघि बढाउन साहित्यिक, सांस्कृतिक कार्यक्रम गरिरहेको जानकारी दिए ।

दिलीप थापा एकेडेमीका संस्थापक तथा निर्देशक दिलीप थापाले कोरोना महामारीका बेलामा पनि नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन मनोरञ्जनमूलक तथा देशभक्तिपूर्ण सांस्कृतिक कार्यक्रम गरिएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै