• २०८१ फाल्गुण २२ बिहीबार

रानीपोखरी बिचको बालगोपालेश्वर मन्दिरमा गजुर स्थापना

kharibot

तस्बीर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

काठमाडौं । भूकम्पले भत्किएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरकोसमेत पुनःनिर्माण सकिने क्रममा रहेको छ ।

यसैक्रममा बालगोपालेश्वर मन्दिरमा गजुर स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १२३ किलो तामाको प्रयोग गरेर गजुरको निर्माण गरिएको हो । त्यस्तै गजुरमा ३३ तोला सुनको जलप समेत लगाइएको छ भने गजुरको उचाई ७ फिट रहेको छ । 

यसअघि रानीपोखरीमा अघिल्लो साता पानी भरिएको थियो । भूकम्पले भत्किएको पाँच वर्षपछि पुन:निर्माण गरेर पानी भरिएको हो ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी पुनर्निर्माणपछि पानी भरेपछि सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको हो ।

रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।  रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको छ ।  

रानीपोखरीको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग भएपछि बीचमा यो विवादमा तानिएको थियो । विवादपछि भक्तपुरका कालीगढको सहयोगमा कालोमाटो प्रयोग गरेर पोखरी निर्माण गरिएको हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै