• २०८१ बैशाख १५ शनिबार

बन्दाबन्दीमा खरिद प्रक्रिया रोक्न महासङ्घको माग

kharibot

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्र लगायत खरिद प्रक्रिया यथावत रहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरोकारवाला निकायसँग पटकपटक ताकेता गर्दा समेत त्यसविपरीत अतिआवश्यक र कोभिड–१९ सँग असम्बन्धित केही खरिद प्रक्रिया सङ्घीय एवं प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासङ्घले जनाएको छ ।

महासचिव रोशन दाहालले भन्नुभयो, “अहिलेको विषम परिस्थितिमा आफू खुशी आफ्ना नजीकका व्यवसायीलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रिया यथावत् राखेकोप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।” निर्माण व्यवसायी बन्दाबन्दीका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासङ्घले खरिद प्रक्रिया रोक्न आज विज्ञप्ति जारी गरी माग गरेको हो । यसअघि जारी भएका पाससमेत रद्द भई स्थानीय तहले समेत आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको महासङ्घले स्मरण गराएको छ ।

बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्नसमेत व्यवसायीलाई समस्या रहेको महासङ्घको गुनासो छ । पूर्ण क्षमतामा बैंक सञ्चालनमा नभएकाले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने महासचिव दाहालले बताए ।

बन्दाबन्दीका समयमा समेत अति आवश्यक सेवा र कोभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रियामध्ये आह्वान भइसकेका बोलपत्र खुलेको मितिले सात दिन पछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गर्न महासङ्घले आग्रह गरेको छ ।

आगामी दिनमा आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्र लगायतका खरिद प्रक्रिया हाललाई स्थगित गर्न पनि महासङ्घले तीनै तहका सरकारसमक्ष अनुरोध गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै