• २०८१ बैशाख २३ आइतबार

असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

kharibot

फाइल तस्वीर

दार्चुला । असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूल लगायत हिउँदेबाली सखाप पारेको हो ।

पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताए ।

“अन्नबालीसँगै तरकारीमा समेत क्षति पुर्याएको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो”, उनले भने, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ ।”

“अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन । पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भने । भित्र्याइएको खेती समेत नोक्सानी हुने भएको छ । बुधबार साँझ आएको असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ ।

नौगाड गाउँपालिका वडा नं ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ । नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्कअनुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ ।

असिनापानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्नबालीमा क्षति पु¥याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहेनत खेर गएको उनले बताए । वडा नं २ र ३ मा बढी खेतीबाली नोक्सानी भएको छ । गाउँपालिकाले शुक्रबारसम्म क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने तयारी गरेको अध्यक्ष धामीले बताए ।

जिल्ला प्रशासन कार्यालयले पनि ४८ घण्टाभित्रै क्षतिको विवरण माग गरेको छ । सोहीअनुसार गाउँपालिकाले सबै कर्मचारी परिचालन गरी हरेक बस्तीबाट क्षतिको यकिन विवरण सङ्कलन गरिने अध्यक्ष धामीको भनाइ छ । यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नं २ राप्ला र वडा नं ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पु¥याएको जनाइएको छ । योपटक असिनापानी बढी आउँदा किसान निरास भएका छन् ।

गहुँबाली भित्र्याउन समस्या

केही दिनयता मौसममा आएको खराबीका कारण दार्चुलाका किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।

जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको किसानले बताएका छन् । एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न समस्या भएको अपिहिमालका किसान हरि लोथ्यालले बताए । पानीका कारण भित्र्याइएको खेती सुकाउन पाइएको छैन, घरभित्रै सड्ने अवस्थामा पुगेको छ । यो वर्ष बढी पानी परेको कारण गहुँ उत्पादन पनि घटेको छ ।

यसैबीच दार्चुलाबाट निर्वाचित सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा भएको कृषिजन्य क्षतिबारे बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई असिनापानीका कारण पारेको क्षतिबारे जानकारी गराउँदै राहत तथा क्षतिपूर्तिका लागि व्यवस्थापन गर्न आग्रह गरेको सांसद ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिए । उनले खाद्यान्न सङ्कट समाधानका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्न समेत आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै