• २०८३ बैशाख २३ बुधबार

योग के हो ? किन बढ्दै छ यसको महत्व ?

योग के हो ? किन बढ्दै छ यसको महत्व ?

योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ ।

योग शब्दको सामान्य अर्थ सम्बन्ध पनि हो । पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । बास्तबमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति  र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो  । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ ।

योगको विभिन्न परिभाषाहरु

(१) पातञ्जल योग दर्शन को अनुसार --चित्त वृत्तिको निरोध नै योग हो।
(२) सांख्य दर्शनका अनुसार - व्यक्ति र प्रकृतिको प्रकृति स्थापना गरेर व्यक्तिको आत्ममा स्थित हुनु नै योग हो ।
(३) विष्णु पुराणका अनुसार - जीवात्मा तथा परमात्मा का पूर्णतया मिलन नै योग हो।
(४) भगवत गीताका अनुसार - दुःख-सुख, लाभ-हानी, शत्रु-मित्र, शीत तथा उष्ण आदि द्वन्दमा सर्वत्र समभाव राख्ने योग हो ।
(५) भगवत गीताका अनुसार -कर्त्तव्य कर्म बन्धक होइन, त्यसैले निष्काम भावनाले अनुप्रेरित भएर कर्त्तव्य गर्ने कौशल योग हो ।
(६) आचार्य हरिभद्रका अनुसार - मोक्षसँग जोड़ने खालका सबै व्यवहार योग हुन ।
(७) बौद्ध धर्मका अनुसार - कुशल चित्त को एकाग्रता योग हो ।
८)   बी.के.एस. अयंगारका अनुसार  --"योग एक ज्योति हो, जुन एकपल्ट जलेपछि कहिल्यै निभदैन्।  बरु जति राम्रो अभ्यास गर्नुहुनेछ, आगोको ज्वाला त्यतिनै उज्यालो हुँदै जान्छ ।”
९) अमित रेका अनुसार --"योग कुनै धर्म होइन । यो एक विज्ञान, कल्याणको वैज्ञानिक, युवापनको विज्ञान, एक शरीर, शरीर र दिमाग र आत्मालाई एकीकृत गर्ने विज्ञान हो। ”
१०) जेसन क्रान्डेलका अनुसार--  "योग तपाईं को हुन् भन्ने बारेमा जिज्ञासु हुने उत्तम अवसर हो।"
११) सिन्डी लीका अनुसार --"तपाईको शरीर सम्भवतः योग गरेर धेरै नै लचिलो हुन्छ, र तपाईको दिमाग पनि ।
१२) सदगुरुको अनुसार -"योग सधैं शरीर परिवर्तन गर्न कोशिस गर्दछ किनकि यदि शरीर परिवर्तन भयो भने, दिमाग आफै परिपक्व हुन्छ।”
१३) श्री श्री राव शंकरका अनुसार-- "योग जीवनको प्राकृतिक लय हो जसले तपाईंलाई आफु र अरुको नजीक ल्याउँछ ।"

यसर्थ .....

"योग फूल फुल्ने मार्ग हो,
योग शुद्धिकरणको मार्ग हो,
योग स्वयंको प्राप्ति हो,
योग भनेको आफैमा हुनुको आनन्द हो,
योग आनन्दको महासागर हो
योग स्वयंको यात्रा हो।" 

योग शरीर, दिमाग, र आत्माको क्यानभासमा जागरूकताको कला हो।योग भनेको आत्मको माध्यमबाट स्वयं सम्मको यात्रा हो।योगले हामीले हेर्ने दृष्टिकोणलाई मात्र परिवर्तन गर्दैन, यसले व्यक्तिलाई परिवर्तन गर्दछ ।

योगका प्रकार

योग खासमा तीन प्रकारका हुन्छ्न् । ती हुन्: ज्ञानयोग, कर्म योग र भक्ती योग ।

श्रीमद् भगवत गीतामा भगवान कृष्णले योगका तीन प्रकार बताएका छन्:    

१. ज्ञान योग:

ज्ञान योगको बारेमा गीतामा शिक्षाद्वारा आफ्नो सम्पूर्ण जगतमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।

ज्ञान भन्दा शुद्ध चिज संसारमा केही छैन् । आत्मज्ञानले ब्यक्तिलाई समाधि सम्मको यात्रा गराउँछ ।

२. कर्म योग :

भागवत गीतामा कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ ।

कर्म नै पूजा हो । आराधना हो। `निष्काम कर्म´ नै गीताको मुख्य एकमात्र सार हो।

३. भक्ति योग:

भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध हुन्छ्न् ।

भगवान संगको साक्षात्कारको लागि भक्ती योगको मार्ग अवलम्बन गर्नुपर्छ।ऋषि, महर्षि, योगीहरुले यहि मार्गको यात्रा गर्छ्न् ।

योग प्रदीपमा योगका १० वटा प्रकारबारे वर्णन गरिएको छ । 

ती हुन्:

१. राज योग २. अष्टाङ्ग योग ३. हठ योग ४. लय योग ५. ध्यान योग ६. भक्ति योग ७. क्रिया योग ८. मन्त्र योग ९. कर्म योग १०. ज्ञान योग
पतंजलिले  अष्टाङ्ग योगलाई महत्व दिएक छन् ।

अष्टाङ्ग योग अर्थात योगका आठ अङ्ग । यी आठ अङ्ग सबै धर्मको सार मानिन्छन् । यी आठ अङ्गहरु हुन्:

१. यम २. नियम ३. आसन ४. प्राणायम ५. प्रत्याहार  ६. धारणा ७. ध्यान ८. समाधि

योगको महत्व

डाली लामाले 'यदि विश्वमा प्रत्येक आठ बर्षे उमेरको बच्चा ध्यान ध्यान दिएमा, हामी एक पुस्ता भित्र वर्लबाट हिंसा हटाउनेछौं ।' भनेका छ्न् ।

योगलाई जीवन पद्धति बनाउनुपर्छ । दैनिक कम्तीमा ३० मिनेट योग गर्नुपर्छ । जसमा १० मिनेट शारीरिक, १० मिनेट स्वासप्रस्वास र १० मिनेट मनलाई आनन्द बनाउन ध्यान गर्नुपर्छ ।

१)  योगको अभ्यासले शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
२)योगले भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
३)  योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लै गर्न कुनै कठिनाइ हुँदैन ।
४) योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
५) योग अभ्यास गर्दा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
६) योगले शरीरमा रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्छ ।
७) मुटु र रगतका नलिलाई सफा गर्ने काम गर्छ ।
८) योगमा शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास हुन्छ ।
९) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।
१०)  योगले शरीरमा बढी भएको क्यालोरी कम गर्छ ।
११) योगले `रिढ’को लचकता बढाएर यौवन, युवापन र शरीरमा स्फुर्ती ल्याउछ ।
१२) योगले जोर्नीहरुलाई खुकुलो बनाउँछ ।
१३) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ ।
१४) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने हुदा अक्सिजन लिने क्षमता बढाउँछ ।
१५) योगले खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी दिन्छ र फाइदा पुग्छ ।
१६) योगा अभ्यासले पाचन प्रणालीका अङ्गलाई मजबुत बनाउँछ । यसको कुनै साइड इफेक्ट केही छैन् ।
१७) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
१८) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
१९) योगले मस्तिष्कलाई सफा बनाउँछ।मन स्वस्थ राखी सकारात्मक बनाउन मद्दत गर्छ।
२०) योग शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो ।

योग गरौँ । स्वस्थ बनौँ । मस्त रहयौँ । तपाईको जीवन योगमय बनोस । जीवनशैली बनोस । जीवनको अंग बनोस् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै