• २०८१ बैशाख २५ मंगलबार

भारतमाथि न्युजील्याण्डको सनसनीपूर्ण जित, चेज गर्यो ३४८ रन

kharibot

काठमाडौँ । न्युजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । आज सम्पन्न सिरिजको पहिलो खेलमा न्युजील्याण्डले भारतलाई ४ विकेटले पराजित गरेको हो ।

भारतले दिएको ३४८ रनको विशाल लक्ष्यलाई न्युजील्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।

न्युजील्याण्डका लागि रोज टेलरले शतकीय पारि खेलेका थिए । टेलरले अविजित १०९ रन बनाएका थिए । त्यस्तै हेनरी निकोलसले ७८ र यस खेलमा कप्तानी गरेका टम लाथमले ६९ रन बनाएका थिए । त्यस्तै मार्टिन गपटिलले ३२ रन बनाएका थिए भने मिचेल सान्टनरले अविजित १२ रन बनाए ।

भारतीय बलर कुलदीप यादवले २ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

यस अघि भारतले एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजील्याण्डलाई ३४८ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३४७ रन बनाएको हो ।

भारतका लागि श्रेयस अय्यरले शतकीय पारी खेलेका थिए । भारतका लागि १६औ एकदिवसीय खेलिरहेका श्रेयसले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक बनाएका हुन् । उनी १०३ रन बनाएर आउट भए ।

त्यस्तै केएल राहुलले अविजित ८८ रन बनाए भने मयंक अग्रवालले ३२, केदार जादभले अविजित २६, पृथ्वी शाले २० तथा कप्तान विराट कोहलीले ५१ रन बनाए ।

न्युजील्याण्डका बलर टीम साउथीले २ विकेट लिए भने कोलिन डि ग्राण्डहोम र इश सोढ़ीले एक एक विकेट लिए ।

यो जितसँगै न्युजील्याण्डले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता हासिल गरेको छ । सिरिजको दोस्रो खेल ८ फेब्रुअरीमा हुदै छ ।

यस अघि खेलेको ५ खेलको टी-२० सिरिज भारतले ५-० ले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै