काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् ।
नेपाल, अमेरिका र ओमानबीच आगामी बुधबारदेखि कीर्तिपुरमा हुने त्रिकोणात्मक सिरिजको मुखैमा पटवालले राजीनामा दिएका हुन् । पटवालको राजीनामा त्रिकोणीय सिरिजपछि लागु हुने बताइएको छ ।
२०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता रहेका पटवालसँग नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरु असन्तुष्ट रहेको बताइएको छ ।
पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेकाले उनले आइसिसीलाई नै राजीनामा पठाएका छन्।
यस अघि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका पटवाललाई क्यान निलम्बनमा परेका बेला आइसीसीले प्रशिक्षकमा नियुक्त गरेको थियो ।
उनी प्रशिक्षक बनेपछि सिंगापुरमा भएको टी-२० विश्वकपको एसिया छनोटका नेपाली टिमले खराब प्रदर्शन गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।