• २०८१ बैशाख २१ शुक्रबार

पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह

kharibot

नवलपरासी । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत पश्चिम नवलपरासीका स्थानीय तहले आआफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिएका छन्।

एतिहासिक, पुरातात्वीक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले ती स्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह जुटेका हुन्।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकास्थित रामग्राम स्तूप र पण्डीतपुरको व्यापक प्रचारप्रसार गरी दुवै स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। यी दुवै स्थान विश्वमै विशेष महत्व राख्ने पर्यटकीय स्थल हुन्।

बुद्धको अस्थिधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन नभई सुरक्षित रहेको एकमात्र रामग्राम स्तूप हो। यो स्तूप रामग्राम नगरपालिका–७ उजैनीमा रहेको छ। करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ।

यसैगरी रामग्राम नगरपालिका–१८ बञ्जरियास्थित पण्डितपुर गाउँमा गौतमबुद्धको मावलीस्थल रहेको मानिन्छ। कोलिया गणराज्यको राजधानी भएको दाबी गरिको यस ठाउँमा यसअगावै बुद्धकालीन इँटा, माटाका भाँडाकुँडा लगायत विभिन्न भग्नावशेष भेटिएका छन्।

यसैगरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलमध्ये सुनवल पनि एक हो। सुनवल नगरपालिका–११ केरावानीमा आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काखमा बाबा बर्दगोरिया धाम अवस्थित छ।

शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रूपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही नदी बग्छन्। प्राचीन समयमा हालको भडँरी जहाँ मामीसती सवरिया मन्दिर रहेको छ, त्यहाँ राजाराम नामका राजा बस्दथे। उनका एक रानी मामीसती र एक भाञ्जा पर्शुराम पनि थिए।

यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । यहाँ अहिले ठूलो सिमलको रुख छ। दरबार अगाडि एउटा तुल्सीको मन्दिर पनि थियो। राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए।

चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे। चर्न गएका गाई कहिले छिट्टै त कहिले महिना दिनसम्म पनि फर्किदैन्थे। चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे। अमर पोखरीको पानी पिए पछि अमर भइन्छ भन्ने विश्वास रही आएको पाईन्छ।

यसैगरी सरावल गाउँपालिका–२ जावामा लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ। लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ। यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख छ।

कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको हुँदा यस क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताए।

यसैगरी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ अवस्थित मुस्लिम समुदायको बाहुल्यता रहँदै आएको नेपालकै पुरानो ऐतिहासिक मदारबाबा मेला पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ। यस स्थललाई पनि प्रचारप्रसार गरी  विशेष गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

मदार क्षेत्रमा विविध चार महत्वपूर्ण स्थान रहेका छन्। महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढ्दै जाँदा गुद्दरबाबास्थल, चावलधोइस्थल र उच्च पहाडमा मदारबाबा मुख्य स्थल रहेका छन्। जसमध्ये केही भाग पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ र केही भाग पूर्बी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–६ मा पर्दछ।

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल नेपाल तथा भारतमा प्रसिद्ध रहँदै आएको छ। यसबाहेक पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर  गाउँपालिकामा रहेका आआफ्नो क्षेत्रका पर्यटकीय स्थललाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको पाईन्छ।

पश्चिम नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै