• २०८१ बैशाख १५ शनिबार

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

kharibot

काठमाडौँ। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । 

देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ ।

हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । 

शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए ।

यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । 

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

खोप अभियानका लागि ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय ६ स्वयम्सेवक परिचालन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै