• २०८१ बैशाख २२ शनिबार

६० वर्ष पुगेका स्वयंसेविकालाई रु एक लाख

kharibot

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाख नगद दिन शुरु गरेको छ।

गत वर्षबाट स्वयंसेविकाको सेवा सुविधाका विषयमा नीतिगत पहल थालेको चम्पादेवीले यसवर्ष गाउँपालिका क्षेत्रभित्र सेवारत १२ स्वयंसेविकालाई प्रति व्यक्ति रु एक लाखसहित दोसल्ला ओडाएर बिदा गरेको हो। 

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मसलीमाया श्रेष्ठ, लिलामाया कार्की, पविमाया कार्की, राम्री माया तामाङ, होमकुमारी घिमिरे, टुकमाया थापा, चण्डेश्वरी कार्की, फुटी शेर्पा, हर्कमाया श्रेष्ठ, चन्द्रकुमारी कार्की, जनमाया घिमिरे र धनमाया कार्कीलाई सम्मानसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए।

पन्ध्र वर्षसम्म स्वयंसेविकाको भूमिका निर्वाह गरेर ६० वर्ष उमेर पुगेकालाई रु एक लाख नगदसहित सम्मान गर्ने गाउँपालिकाको नीति रहेको उनको भनाइ थियो। अध्यक्ष केसीले भने, “यस्तो रकम १५ वर्षभन्दा बढी काम गरेर र ६० वर्ष उमेर पुगेकाले मात्रै पाउँछन्।”

गाउँपालिकाले दिएको उक्त रकम बाहेक नेपाल सरकारमार्फत पाउने अन्य सहयोग पनि काम छाडेका स्वयंसेविकाले पाउने जनाइएको छ।  

चम्पादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत “गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका“ भन्ने नारासाथ स्वयंसेविका सम्मान र प्रोत्साहन गर्ने छुट्टै नीति लिएको छ।

गत वर्षदेखि नै चम्पादेवीका स्वयंसेविकाले मासिक रु एक हजार खर्च पाउँदै आएका थिए। यसवर्ष रु ५०० बढाएर प्रति व्यक्ति मासिक रु एक हजार ५०० दिन थालिएको छ।
चम्पादेवी गाउँपालिकामा ७७ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै