काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ ।
कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।
मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।
यससँगै मन्डेले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता काँतामा नेपाल स्वर्णविहीन हुदै आएको थियो ।
यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पराजित भएकी छन् ।