• २०८१ बैशाख २० बिहीबार

राजनीतिमा योगेश : विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसम्म

kharibot

काठमाडौँ । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भनेका थिए ।

निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी भए । भट्टराईले २९ हजार ४७९ मत ल्याएर विजयी भए भने काँग्रेसका केशवप्रसाद दहालले १६ हजार ८८८ मत ल्याएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । 

सो मन्त्रिमण्डलमा भट्टराई परेनन् । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै मिडियादेखि सामाजिक संजालसम्म आलोचना पनि भयो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बनेका छन् । 

प्रधानमन्त्री ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गरेका हुन् ।

आमा महेन्द्रादेवी र बुबा स्व भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उनको जन्म भएको थियो । उनी दुई वर्षको छँदा नै बुबा बितेका थिए ।

मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उनले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा उनी सक्रिय सहभागी भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।

एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै उनी पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिएका थिए । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी भए । 

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोगेका थिए । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर उनले पाएका थिए । 

मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र-मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

उनी विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी भएका थिए । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गरेका उनी सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष बनेका थिए । 

उनी नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा चिनिन्छन । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो । 

त्यस्तै उनले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गरेका थिए । मन्त्री भट्टराईले विसं २०६२-६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरेका थिए ।

विसं २०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका उनी पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । पार्टीको नवौँ महाधिवेशनबाट उनी सचिवमा निर्वाचित भए । 

तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहेका भट्टराई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । उनले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै