• २०८१ बैशाख २२ शनिबार

खेतमा काम गर्ने सि जिनपिङको यसरी भयो उदय

kharibot

२१औँ शताब्दीमा यस्ता नेता कमै छन्, जसले खेतमा काम गरेर पनि सत्ताको शिखर चढ्न सफल भएका छन् । आजभन्दा पाँच दशकअगाडि चीनमा सांस्कृतिक क्रान्तिको आँधी आउँदै गर्दा अहिलेका राष्ट्रपति सी जिनपिङ केवल १५ वर्षका थिए । उनी खेती किसानी गर्दथे । गृहयुद्धले जकडिएका बखत चीन कम्युनिष्टहरुको गढ थियो । येनानका मानिसहरु आफ्नो भूमिलाई लालक्रान्तिको पवित्र भूमिका रुपमा लिन्थे । अन्दरुनी इलाकामा सि जिन्दगीको संघर्षमा थिए ।

उनै सी अर्थात् वर्तमान राष्ट्रपति चीनमा जारी कम्युनिष्ट पार्टीको कांग्रेसमा दोस्रो राष्ट्रपतीय कार्यकालका लागि अनुमोदित हुँदै छन् । चीनले भौतिक प्रगति सुपरपावर गतिमा गरिरहँदा सीले अहिले त्यसको नेतृत्व गरिरहेका छन् । उनकै गाउँ अन्दरुनी अहिले व्यापक सहरीकरण भइरहेको छ । सीको गाउँलाई कम्युनिष्ट पार्टीका भक्तहरुले तीर्थस्थलकै रुपमा लिने गरेका छन् । सन् १९६८ मा माओले युवाहरुलाई गाउँ गएर किसन मजदुरबाट संघर्ष गर्न सिक्न निर्देशन नै जारी गरेका थिए । सायद सीले पनि यसबाट धेरै पाठ सिके । १५ वर्षसम्म के गर्ने के नगर्ने दुविधाग्रस्त एक किसान जसै २२ वर्ष टेके, विस्तारै आत्मविश्वासी हुनथाले । त्यतिबेलै उनले माओको छोटो लालकिताब पढ्ने गर्थे ।

राष्ट्रपतिको रुपमा पाँच वर्षे कार्यकालमा सीले आफूलाई एक महान् नेताका रुपमा विश्वसामु उभ्याइसकेका छन् । उनले जनताको दुःखलाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् । उनी स्वयं भन्छन्, ‘म फूलै फूलको हार र तालीको गडगडाहटदेखि परै रहेर हेर्ने गर्छु । मानवीय सम्बन्धको कमजोरी अनि राजनीतिलाई गहिराइमा पुगेर हेर्छु ।’ सीका बाबु पनि कम्युनिष्ट क्रान्तिका नायक थिए । तर १९६० को दशकमा भने उनको बाबुलाई पार्टीबाट बाहिर निकालिएको थियो । त्यतिबेला माओले धेरै नेतामाथि कारबाही गरेका थिए । उक्त घटनाले सीको परिवार लज्जित हुनपुग्यो । उनकी बहिनीले आत्महत्या गरिन् । १३ वर्षमै सीको पढाइ बन्द भएको थियो । किनभने बेइजिंगको सबै विद्यालय त्यतिखेर बन्द गरिएको थियो । सीले धेरै समय माओका बदनाम रोड गार्ड्सको आँखा छलेर घुमफिर गर्ने गरेका थिए ।

६० को दशकमा चीनका गाउँ गाउँको जिन्दगी एकदमै संघर्षपूर्ण थियो । बिजुली थिएन । गाउँ जाने सडक पनि कच्ची थिए भने खेतीको लागि मेसिनहरु थिएनन् । त्यतिखेरै सीले सडक मर्मत, बाँध बनाउने जस्ता काम सिकेका थिए । काम गर्दा जस्तो एक सामान्य मजदुरको दैनिकी हुन्छ, ठीक उस्तै थियो वर्तमान चिनियाँ राष्ट्रपतिको सुरुवाती जीवन पनि । एक किसान साथी लु होउशेंगका अनुसार भोक लाग्दा कसैलाई के खान पाइन्छ भन्ने अन्दाज पनि हुँदैनथ्यो । पढ्नका लागि माओको भाषण र अखबार बाहेक केही हुँदैनथ्यो ।

त्यसो त सीलाई पहिलेदेखि नै हँसीमजाकमा रुचि थिएन । उनी खेलकुदमा पनि खासै रुचि राख्थेनन् । रोचक कुरा त आफ्ना लागि राम्री गर्लफ्रेण्ड बनाउनेतिर पनि सीको ध्यान थिएन । १८ वर्षको उमेरमा उनी कम्युनिष्ट युथ लिगमा सामेल भएका थिए भने २१ वर्षमा संघर्षकै दौरान कम्युनिष्ट पार्र्टीको सदस्य बने । उनी २५ वर्षका हुँदा उनका बाबु पनि पुनः कम्युनिष्ट पार्टीमा फर्किए । उनलाई गुआंगडांगमा काम गर्न पठाइएको थियो । बाबुको मद्दतबाट सीले आफ्नो करिअर अगाडि बढाएका थिए । विस्तारै पार्टीमा पनि पहुँच पुग्न थाल्यो । ७० को दशकमा उनी चीनको सेनामा भर्ती भए । उनको पहुँच अब कम्युनिष्ट पार्टीको उच्च नेतासम्म पुग्नथालिसकेको थियो ।

अन्तमुर्खी स्वभावका सी सधैँ व्यस्त रहन्थे । यही गुणले होला एक राजनेताकी छोरीसँगको पहिलो विवाह सुखद भएन । यसको फाइदा उनलाई आफ्नो करिअर अगाडि बढाउनतिर भयो । उनी सत्ताको शिखर चुम्दै चर्चित बन्दै गएका थिए । सीको विवाह एक मसुर गायिका पेंग लियुआनसँग भयो । जो अहिले पनि उनकी पत्नी छन् । सीले आफ्नो बाबुलाई माओले कसरी सताएका थिए भन्ने राम्ररी देखेका थिए । तर उनी सधैँ चुप रहे ।

अमेरिकामा सी जिनपिंग सन् १९८५ मा केही दिन एलेनोर ड्वोरचाकको घरमा बसेका थिए । उनका छोराकै ओछ्यानमा सुतेका थिए सी । भित्तामा स्टारट्रेक फिल्मको पोष्टर झुण्डिएको थियो । एलेनोरको घर अमेरिकाको आयोवाको मस्कटिन सहरमा रहेको छ । जब २०१२ मा जिनपिंग आयोवाको भ्रमणमा गएका थिए, एलेनोरले भनेका थिए कि कसैले पनि यस्तो अनुमान पनि लगाउन सक्दैन कि उनको घरमा आएको कुनै व्यक्ति कुनै दिन देशकै राष्ट्रपति भएर आउनेछ । २०१२ मा जिनपिंग चीनको कम्युनिष्ट पार्टीको नेता बनेका थिए । उनी कम्युनिष्ट पार्टीमा सर्वसम्मत रुपमा चुनिएका थिए । तर कसैलाई पनि आगामी पाँच वर्षमा सी यस्ता नेता भएर उदाउनेछन् भन्नेबारे अनुमानसम्म पनि थिएन ।

राष्ट्रपतिको रुपमा पाँच वर्षे कार्यकालमा सीले आफूलाई एक महान् नेताका रुपमा विश्वसामु उभ्याइसकेका छन् । उनले जनताको दुःखलाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् । उनी स्वयं भन्छन्, ‘म फूलै फूलको हार र तालीको गडगडाहटदेखि परै रहेर हेर्ने गर्छु । मानवीय सम्बन्धको कमजोरी अनि राजनीतिलाई गहिराइमा पुगेर हेर्छु ।’

११ जुन २०१५ मा एक व्यक्ति एउटा अदालतको कठघरामा उभिएका देखिएको थियो । उनी त्यही सुरक्षाकर्मीबाट घेरिएका थिए, जो कुनै बेला उनकै हुकुम शिरोपर गर्दथे । चीनमा डरको दोस्रो नाम उनी नै थिए । सबैकुरा उनकै नियन्त्रणमा थियो । तर समय बदलियो र उनी अन्ततः अदालतमा अपराधी भएर उभिनुपरेको थियो । उनले अदालतमा आफ्नो अपराध कबुल गरे, र सजायको विरुद्ध अपिल नगर्ने बताउनुपर्यो । उनी थिए चाउ योंगकांग । चीनमा कम्युनिष्ट शासनको इतिहासमा कानुनको सामना गर्ने सबैभन्दा वरिष्ठ नेता थिए उनी । उनी बाहेक बो शीलाई नामका एक नेतालाई पनि सीले कानुनको पाठ पढाएका थिए । उनीहरुविरुद्ध पार्टी एकतामा ठेस पुर्याएको आरोप लगाइएको थियो ।

सी सत्तामा आएपछि ठूला ठूला भोज आयोजना गर्ने कार्यक्रमहरु बन्द गरिए भने थुप्रै राजनीतिक सुधारहरु भए । सीले सत्तामा आएपछि भ्रष्टाचारविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । उनले पैसा कमाउने इच्छा भएकालाई पार्टीमा नआउन सुझाएका थिए । सीले नेताहरुका लागि पनि थुप्रै कानुनहरु बनाइदिए, ताकि भ्रष्टाचारजन्य क्रियाकलाप पार्टीभित्र अन्त्य होस् । तर यति हुँदा हुँदै पनि सीले पूरै रोक्न सकेनन् । उनी राष्ट्रपति हुनुअगावै उनका धेरै आफन्तहरु करोडपति भइसकेका थिए । सीलाई राम्ररी थाहा छ कि चीनको समाज धेरै भ्रष्ट भएको छ ।

यद्यपि चाउविरुद्ध सीले षड्यन्त्र गरेको आरोप भने लाग्दै आएको छ । उनका गाउँका मानिसहरु चाउले देशका लागि थुप्रै काम गरेको बताउँछन् । पछिल्लो पाँच वर्षमा चीनमा नेता र कारोबार हराएको भनिन्छ । उनीहरुलाई नजरबन्दमा राखेको हुनसक्ने पनि विश्वास गरिन्छ । यसको सन्देश भनेको सीको शासनकाल नै हो । भ्रष्टाचार आरोपमा सीले धेरै नेतालाई पार्टीबाट बाहिर फालिदिएका छन् । सीका विरोधी नेता गुओ वैगुईका अनुसार सीका नजिकका वांग आफैँ भ्रष्ट छन् तर उनलाई भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थाको प्रमुख बनाइएको छ । गुओ अहिले न्युयोर्कमा बस्छन् । उनी युट्युबबाट सीका नजिकका नेताविरुद्ध आवाज उठाउँछन् । तर उनले सीमाथि भने सिधा आरोप आजसम्म लगाएका छैनन् ।

पूर्ण सफाइ गर्ने अभियानका बाबजुद चिनियाँ कम्युनिष्ट पार्टीमा भ्रष्टाचार कम भएको छैन । तर सीको यस अभियानमा कुनै कमी पनि आएको छैन । चीनमा इन्टरनेटमा समेत सरकारले नियन्त्रण राख्छ । करिब ७५ करोड चिनियाँले इन्टरनेट प्रयोग गर्छन् । यो भनेको युरोप र अमेरिका मिल्दा पनि बढी संख्या हो । सी चीनलाई साइबर सुपरपावर बनाउन चाहन्छन् । साइबर सुरक्षालाई सी देशकै सुरक्षाको मुद्दा मान्छन् । झूटो आइडी बनाएर चीनमा कसैले पनि सामाजिक सञ्जाल चलाउन सक्दैन । सी चीनलाई धनी मुलुक बनाउन चाहन्छन् । देशमा केवल एउटा पार्टी होस्, मानिसहरु अनुशासनमा रहून् भन्ने नै सीको चाहना रहँदै आएको छ । चीनका विश्वविद्यालयहरुमा पार्टीको पहुँच बढाइँदै लगिएको छ । किताबमा पश्चिमी सभ्यताबारे पढ्न पाइँदैन भने निजी कम्पनीमा पनि कम्युनिष्ट पार्टीको सदस्यता खोलिने गरेको छ ।

  • बीबीसी हिन्दीबाट अनुदित

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै