प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी उमा रेग्मी नेपाली कांग्रेसकी सक्रिय नेतृ हुन् भने पार्टीकै भ्रातृ संगठन नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत रहेकी छिन् । १७ वर्षको किशोरावस्थादेखि नै रेग्मीले चितवनको शारदानगर इकाइको उपाध्यक्ष भएर राजनीतिमा लागेकी थिइन् । त्यसो त उमा अहिले पार्टीको तर्फबाट चौँथो पटक सांसद हुन् भने महिला संघको समेत दोस्रो पटक अध्यक्ष हुन् । विराटनगरबाट भएको महिला संघको पहिलो केन्द्रीय अधिवेशनबाट निर्वाचित भएसँगै त्यसपछि पार्टीको केन्द्रीय सदस्य समेत बनिन् ।
यसरी आएँ राजनीतिमा
विद्यार्थी कालमा पढ्ने समयमा उमाको दाजु पनि नेपाल विद्यार्थी संघमा थिए । उनले घरमा तरुण पत्रिका ल्याउँथे । त्यतिबेला त्यो प्रतिबन्धित थियो । दाजुले ‘मेरो कोठामा नजाओ शिरानीमा नहेर’ भन्ने गरे पनि उनी भने उक्त पत्रिका मज्जाले पढ्थिन् । सोही कारण उनी बीपीको व्यक्तित्वबाट पनि प्रभावित हुन थालिन् र फलतः उनी कांग्रेसकै नेतृ बनिन् । त्यसपछि त उनलाई पञ्चायती व्यवस्थाप्रति वितृष्णा जाग्न थाल्यो र यसलाई अन्त्य गर्नैपर्छ भन्ने भावना आउनथाल्यो । यसले नै ०३६, ०४६ को प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक लाग्ने प्रेरणा मिल्यो ।
प्रजातान्त्रिक राजनीतिमा संलग्न उमाको वैचारिक दृष्टिकोण पनि ज्यादै स्पष्ट छ । जति संघर्ष त्यति नै प्राप्ति हुने उनको भनाइ छ । महिलाहरुले अलि बढी जागरुक भएर हरेक क्षेत्रबाट अधिकारका निमित्त संघर्ष गर्नुपर्ने र त्यसका लागि उनीहरुले यो पार्टी ऊ पार्टी भनेर पार्टीको भित्र मात्रै खुम्चिन नहुने बताउँछिन् उमा । आफ्नो हक र अधिकारको निम्ति पार्टीभन्दा माथि उठेर पनि संघर्ष गरेर अधिकार लिनुपर्ने स्पष्ट विचारधारा छ उनको । महिला र पुरुषमा महिला सेवक र पुरुष मालिक नभएकाले दुवैमा ‘हामी साथी हौं । एक रथका दुई पाग्रो हौं’ भन्ने सारभूत विचार हुनुपर्ने उनको मान्यता छ । त्यसैले पनि उनी घरभित्रको चुलोको काम पुरुष र महिला दुवैले बराबरी गर्नुपर्ने बताउँछिन् । जसरी घरको काम दुवैले गर्नुपर्छ, राज्यको काम पनि पुरुष र महिलाले बराबरी गर्नुपर्छ । यसका लागि पुरुषको मानसिकतामा परिवर्तन आउन जरुरी देख्छिन् उमा ।
नेतृ रेग्मीसँग ०४८ सालअगाडि १० वर्ष कलेज पढाएको अनुभव समेत छ । उनी मास्टर इन एजुकेसनमा गोल्ड मेडलिस्ट हुन् । ०४८ सालमा पहिलोपटक पर्वत क्षेत्र नं. २ बाट उमा पहिलोपटक राजनीतिक करिअरमा निर्वाचित सांसद बन्न सफल भइन् । उनलाई त्यसपछि अन्तरिम व्यवस्थापिका संसदमा पार्टीले मनोनीत गर्यो । ०६४ मा समानुपातिक तर्फबाट र अहिले पनि उनी चितवनबाटै समानुपातिक सांसद रहेकी छिन् । यो उनका लागि राजनीतिक जीवनमा सम्झनालायक क्षण हो ।
०३४ सालको पञ्चायतको प्रतिबन्धित अवस्थामा समेत पद्मकन्या क्याम्पसको नेपाल विद्यार्थी संघ उनकै अध्यक्षततामा स्थापना भएको थियो । पछि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर उनले काम गरिन् भने दुई वर्षपछि अर्थात् ०३६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व समेत गरिन् । राजनीतिक आन्दोलनकै क्रममा उनले ३ वर्ष जेलजीवन भोग्नुपरेको छ ।
रेग्मीजस्ता संघर्षशील महिलाकै परिणामले आज नेपाली महिलाको सामाजिक र राजनीतिक स्थितिमा व्यापक परिवर्तन आएको छ । यद्यपि त्यो अपर्याप्त छ, तर पनि नेपाली महिलाहरु देशको नेतृत्व गर्ने पद हाँक्ने अवस्थामा समेत पुगिसकेका छन् । त्यस्तो अवसर पाउनुमा कतै न कतै उनै रेग्मीजस्ता विभिन्न पार्टीमा आबद्ध जुझारु, क्रान्तिकारी र संघर्ष गर्न रुचाउने महिला नेतृहरुकै पसिना मिसिएको कुरामा दुई मत छैन ।
हाल तीनवटै सभामा लगभग ३३ प्रतिशत महिलाको उपस्थिति रहे पनि हरेक ठाउँमा महिलाको ३३ प्रतिशत उपस्थिति छैन । संविधानले दिए पनि ठूला भन्ने पार्टीहरुले नै कार्यान्वयन गरिसकेका छैनन् । अरु त अरु उमाकै पार्टीमा समेत ३३ प्रतिशत महिला उपस्थिति छैन । अबको विधानले ३३ प्रतिशत पुर्याएर ५० प्रतिशतकै लक्ष्यमा पुग्ने मार्गदिशामा हिँड्ने उमाको भनाइ छ ।
जसरी घरको काम दुवैले गर्नुपर्छ, राज्यको काम पनि पुरुष र महिलाले बराबरी गर्नुपर्छ । यसका लागि पुरुषको मानसिकतामा परिवर्तन आउन जरुरी देख्छिन् उमा ।
पार्टीमै महिलाले संविधान प्रदत्त संख्यात्मक उपस्थिति नपाइरहेका बेला गणतान्त्रिक सरकारमा समेत महिला उपस्थिति सन्तोषजनक छैन । उमा यस्तो राजनीतिक विभेदपूर्ण परिस्थितिको उपज सामन्तवादी सोचलाई ठान्छिन् । उनका अनुसार सोही सोच हाबी हुँदा नै महिला पछाडि परेका हुन् । पुरुष नै मन्त्री बन्नुपर्ने, पुरुष नै ठूला पदमा पुग्नुपर्ने सोचले समाजमा नेपाली महिला अगाडि बढ्न रोकेको उनको भनाइ छ । ‘त्यो सामन्तवादी सोच हरेक पार्टीमा छ । जतिसुकै क्रान्तिकारी पार्टी भने पनि सोच पुरानै छ’, उनी भन्छिन्, ‘एमाले र माओवादी मिलेर नेकपा बनेको छ । त्यो पनि महिलामैत्री देखिएन ।’
माओवादीले समेत जनयुद्धमा महिलालाई ४० प्रतिशत स्थान दिए पनि नीतिनिर्माणको तहमा भने महिलालाई आवश्यक स्थान दिन नसकेको उनी बताउँछिन् । अझ माओवादीले नातावादलाई प्रश्रय दिँदै त्यस्ता पदमा नजिकका महिलालाई पठाएको उनको भनाइ छ ।
बन्द समाजमा हुर्केर खुल्ला राजनीतिमा उदाउन सफल उनी महिला उत्थानका लागि मानसिकतामा परिवर्तन हुनुपर्ने धारणा राख्छिन् । तर यो पुस्ताका नेताहरुमा मानसिकता परिवर्तन हुने नदेखिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘यसको लागि नेताहरुलाई नै प्रशिक्षण दिन जरुरी छ ।’ उनका अनुसार मुख बोल्ने भाषामा मात्रै नभएर महिला र पुरुष वास्तविकतामा पनि समान हो भन्ने कुरा सबैभन्दा पहिला पार्टीका नेताहरुलाई प्रशिक्षण दिन जरुरी छ । पुरुष नेताले आजसम्म महिलालाई बाध्यात्मक परिस्थितिमा बाहेक यस्ता उच्च राजनीतिक अवसरमा समावेश नगरेको उनको आरोप छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा समेत उमा सदस्य छिन् । समितिको बैठकमा १२ जनालाई सरकारले राजदूत बनाउन लागेकोमा २ जना मात्रै महिलालाई प्रस्ताव गरिँदा उनले चर्को असन्तुष्टि व्यक्त गरेकी थिइन् । यस्तो अवस्थालाई उमा सरकारले हरठाउँमा महिलालाई पेलेर गएको देख्छिन् । यो संविधानको मर्मविपरीत समेत रहेको उनको भनाइ छ । सोही कारण महिलाले अधिकार पाउने भनेको देशको लागि अझै पनि गाह्रो अवस्था रहेको बुझाइ छ उनको । उनी भन्छिन्, ‘संघर्ष नगरी पाउने अवस्था त छँदै छैन । जति संघर्ष गर्न सक्यो त्यति प्राप्ति हो । महिलाहरु पनि एकजुट भएर संघर्ष गर्नुपर्छ ।’
एकातिर पछाडि पारिनुको चोट, अर्कोतिर समाजमा सहनुपर्ने महिलाहिंसा । उमा महिला, बालिकाले पाउनुपर्ने न्याय समेत समाज र राजनीतिकै कारण नपाएकोमा दुःख व्यक्त गर्छिन् । कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा समेत आवाज उठाउँदा सरकार गिराउन लाग्यो भनेर अन्य पार्टीका महिलाले नै बोल्ने गरेकोमा उनको दुःखेसो छ ।
चितवनका महिला
चितावनमा महिला जागरुक रहेकोमा भने उनी खुसी पनि छिन् । हरेक आन्दोलनमा चितवनबाट धेरै महिलाहरु सहभागी हुने गरेको उनको भनाइ छ । फलस्वरुप जिल्लामा महिला सांसदका अतिरिक्त अहिले मेयर÷उपमेयर दुवै महिला रहेकाले उनी भरतपुर महानगरलाई नमूना महानगर भएको बताउँछिन् ।
पार्टीको नेतृत्वदायी पदमा रहेकाले पनि उमालाई देशैभर संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व क्षमता विकास तालिमजस्ता राजनीतिक पूर्वाधारलाई बलियो पार्ने दायित्व पूरा गर्ने अभिभारा छ । यस्ता कार्यक्रमहरुलाई उनी निरन्तरता दिइरहेकी छिन् । यसका अतिरिक्त उमा स्थानीय तहमा महिलाहरुको अधिकार, कर्तव्य तथा महिलाहरुको नेतृत्व क्षमता कसरी बढाउने जस्ता कुरालाई पार्टीले विशेष गरी नेपाल महिला संघले काम गरिरहेको बताउँछिन् ।
पार्टीले महिला, दलितदेखि हरेक सवालमा अग्रणी भूमिका दिनुपर्ने तथा त्यसका लागि १५ सालको बीपी कोइरालाको प्रधानमन्त्रित्वको क्याबिनेटमा देवी ठकुरानीलाई सहायक मन्त्री बनाइएको इतिहासलाई सम्झिनुपर्छ ।
सांसद अनुभव
जनताको प्रतिनिधि हुँदामा नै फरक नलाग्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘म गाउँबाट जन्मे हुर्केर आएकी कृषक बाबु आमाकी छोरी हुँ । तर जनताको जिम्मेवारी, महिलाहरुको जिम्मेवारी हाम्रो काँधमा आउँछ । त्यस कारण देशमा राम्रो नियम कानुनहरु बनाएर विकास गरौं भनेर जिम्मेवारीको लागि पहल हुन्छ । जिम्मेवारी बोध हुन्छ । अरु कुरा त्यस्तो लाग्दैन ।’ सांसद नभएको बेलामा पनि पार्टीको कुनै न कुनै निकायमा रहेर काम गरेको बताउँदै उनी भन्छिन्, ‘हरेक समयमा जनताको हकहितको निम्ति लडेको छु । सामान्यतया सबै समय उस्तै लाग्छ ।’ यद्यपि पदमा हुँदा अलि बढी दायित्व हुने हुँदा र पार्टीको कुनै न कुनै तहमा बसेर काम गरिरहेको हुँदा त्यस्तो धेरै अन्तर नलाग्ने उनको भनाइ छ ।
सरकार गफ मात्रै गर्छ !
संसदमा प्रतिपक्ष दलकी नेतृ भएकीले पनि हुनसक्छ । उनी सरकारले गफ मात्रै गरेको आरोप लगाउँछिन् । सुखी नेपाली समृद्ध नेपाल भनेर नारा दिए पनि महिला हिंसाका अपराधीहरुलाई पक्रिन असफल भएकोमा सरकारप्रति उनको तिखो आलोचना छ । केही दिनअघि मात्रै प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएकोमा उनको पार्टीले संसदमा हंगामा गरेको थियो । उनी त्यसैतर्फ संकेत गर्दै भन्छिन्, ‘प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइँदैन ।’ सडक र सदनबाट न्याय माग्दा पनि नपाएको उनको गुनासो छ । त्यस्तै सरकारले विकास निर्माणमा समेत काम गर्न नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘१ वर्ष हुन लाग्यो सरकार घर–घरमा पाइप ल्याइदिने, रेल ल्याइदिने, पानीजहाज ल्याइदिने ठूला–ठूला सपना भए तर काम भएन ।’ सरकारमा दुई तिहाइको दम्भ रहेको र परिस्थिति त्यसैअनुसार देखिएको उनको भनाइ छ ।
पार्टीहरुमा समस्या !
उमा महिलासँग सम्बन्धित हरेक कुराहरुमा पार्टीहरुभित्रै समस्या रहेको बताउँछिन् । क्रान्तिकारी बनेर आएका पार्टी पनि क्रान्तिकारी बन्न नसकेको उनको बुझाइ छ । आफ्नै पार्टी कांग्रेसमा समस्या रहेको उनी बताउँछिन् । यद्यपि आफ्नो पार्टीलाई भने उनी ‘लोकतान्त्रिक पार्टी’ भन्न रुचाउँछिन् । तर त्यसका लागि भने उनका निश्चित सुझाव पनि छन् पार्टीका लागि । पार्टीले महिला, दलितदेखि हरेक सवालमा अग्रणी भूमिका दिनुपर्ने तथा त्यसका लागि १५ सालको बीपी कोइरालाको प्रधानमन्त्रित्वको क्याबिनेटमा देवी ठकुरानीलाई सहायक मन्त्री बनाइएको इतिहासलाई सम्झिनुपर्ने उनको भनाइ छ ।
तत्कालीन समयमा ठकुरानी दक्षिण एसियाकै पहिलो महिला मन्त्री बनेको, धनमान सिंह परियारलाई बीपीले पार्टीको महामन्त्री बनाएको, पञ्चायतमै गए पनि परशुनारायण चौधरीलाई महामन्त्री बनाइएको जस्ता समावेशिताका उदाहरण हेरेर आगामी दिनमा कांग्रेसले ठूलो राजनीतिक, व्यावहारिक सुधार पार्टीभित्र गर्नुपर्ने उनको भनाइ छ ।