• २०८३ बैशाख ७ सोमबार

योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद अनुरुपको व्यबहार गरे नगरेको प्रश्न उठेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन बैशाख ९ गते बहस गर्ने विषयहरु सार्बजनिक गर्दै नेता भट्टराईले  पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथी पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परिक्षामा रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई सहि अर्थमा बुझेका छौं ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्- 'उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक संघर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसंग छ । तर प्रश्न छ के हामीले जबजलाई सहि अर्थमा बुझेका छौ? सोही अनुरूपको व्यवहार गरेका छौ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौ? यसमा नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो? पार्टी र आन्दोलनको पुनर्जागरण र पुन:उत्थानको मार्ग के हो? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गंभीर बहस गरौ ।' 

वैशाख ९ लाई कम्युनिष्ट आन्दोलनका लागि गम्भीर बहस गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन् । नेकपा स्थापना दिवसको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ लगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । स्थापना भएको ७६ वर्ष पूरा भई अब ७७औँ वर्षमा प्रवेश गर्न लागेको उल्लेख गरिएको छ ।

उनले पार्टीले यस अवधिमा फुट, विभाजन, एकता र पुनर्गठनका विभिन्न चरण पार गरेको उल्लेख गर्दै सफलतादेखि असफलतासम्मका अनुभव बटुलेको बताएका छन् । साथै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताले बनाएको विरासत जोगाउने चुनौती वर्तमान नेतृत्वसामु रहेको उनको भनाइ छ ।

भट्टराईले जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोग, पछिल्लो निर्वाचनमा आएको धक्का, नीति, नेतृत्व, संगठन र कार्यशैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । उनले जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्दै पार्टी पुनर्जागरणको मार्ग खोज्नुपर्नेमा जोड दिएका छन् ।

यस अवसरमा उनले वैशाख ९ गते अपराह्न २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई बहस तथा छलफलमा सहभागी हुन आह्वान गरेका छन् । साथै राजधानी बाहिर रहेका नेता–कार्यकर्तालाई पनि तोकिएको स्थानमा भेला भएर छलफल गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै