• २०८१ बैशाख २३ आइतबार

कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता - प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि विष्ट राष्ट्रवादी नेता भएको बताएका छन् ।

काठमाडौंमा आज ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले विष्टले आफ्नो कार्यकालमा राष्ट्रवादी चरित्र प्रस्तुत गरेको टिप्पणी गरेका हुन् । “तत्कालिन समयमा नेपालको उत्तर सीमामा रहेका भारतीय चेकपोस्ट हटाउने निर्णय गरेर विष्टले देशभक्तिको सन्देश दिनुभएको थियो,” प्रधानमन्त्री ओलीले भने, “चेकपोस्ट हटाएपछि मलाई लाग्यो प्रधानमन्त्रीले चाह्यो भने देशका लागि उभिन सक्दो रहेछ, मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ ।”

प्रधानमन्त्री ओलीले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गरे । “पदका लागि जे पनि गर्न तयार होइन, उहाँ देशका लागि पद छाड्न तयार हुनुहुन्थ्यो,” प्रधानमन्त्री ओलीले स्मरण गरे, “उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पञ्चायत कालमा कीर्तिनिधि विष्टले देखाउनुभएको छ ।” सिंहदरवारमा आगलागी हुँदा तत्कालिन प्रधानमन्त्री विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

पुत्र विनोद विष्टद्वारा लिखित पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले विष्टलाई २०२६ सालतिर झापाको घैलाडुब्बा स्कुलमा भेटेकोसमेत स्मरण गरेका थिए । “त्यस कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ,” प्रधानमन्त्रीले सम्झए, “उहाँको विद्वता, अभिव्यक्ति, जिउडाल, उचाई, भावना र दृढता प्रधानमन्त्रीकोजस्तै थियो ।’ आफूले भेटेको पहिलो प्रधानमन्त्री कीर्तिनिधि विष्ट भएकोसमेत प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै