• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानमा सार्क सम्मेलन भएमा भारत सहभागी हुदैन - विदेशमन्त्री स्वराज 

kharibot

नयाँ दिल्ली। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानमा सार्क सम्मेलन भएमा भारत सहभागी नहुने स्पष्ट पारेकी छन् ।

विदेशमन्त्री स्वराजले पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी हुन नसक्ने बताएकी छिन् । बुधबार हैदराबादमा पत्रकारहरुसँग कुरा गर्दै स्वराजले पाकिस्तानले आतंकवादी गतिविधि नरोकेसम्म भारत र पाकिस्तानबीच दुईपक्षीय सम्बन्ध सुधार नहुने बताएकी हुन् । करतारपुर करिडोरमा भारतको सहभागिता हुँदैमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार नभएको स्वराजले स्पष्ट पारेकी छन् ।

मंगलबार पाकिस्तानको विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा सहभागी हुन निम्तो समेत पठाएको थियो । सार्क सम्मेलन पाकिस्तानको इस्लामाबादमा हुने भने पनि अहिलेसम्म यसको मिति तय भएको छैन । १९औँ सार्क शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमै पाकिस्तानमा हुने तय भए पनि भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण अहिलेसम्म हुन सकेको छैन । 

करतारपुर करिडोरमा भारत र पाकिस्तान दुवैको सहभागिता रहे पनि दुई देशबीच वार्ता तथा सम्बन्ध नभएको स्वराजले स्पष्ट पारेकी छिन् । ‘भारत सरकारले करतारपुर करिडोरको विषयमा गएको २० वर्षदेखि पाकिस्तानसँग कुराकानी गरिरहेको थियो, ‘स्वराजले भनेकी छिन्, ‘पाकिस्तानले पहिलो पटक सकारात्मक जवाफ दिएको छ, यसको अर्थ पाकिस्तान र भारतीय पक्षबीच वार्ता तथा सम्बन्ध सुरु भएको भन्ने होइन ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले करतारपुर करिडोरको शिलान्यास गरेपछि भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो । यो करिडोर ६ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । यो करिडोर बनिसकेपछि भारतीय नागरिक पाकिस्तानमा पर्ने गुरुद्वारासम्म बिना भिसा जान सक्नेछन् ।

पूर्व क्रिकेटर तथा पंजावका मन्त्रीसमेत रहेका भारतीय कांग्रेसका नेता नवजोत सिंह सिद्धू पनि करतारपुर करिडोरमा सहभागी हुन पाकिस्तान गएका छन् । पाकिस्तानले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई करतारपुर करिडोरको उद्घाटनमा सहभागी हुन बोलाएको भए पनि उनको ठाउँमा केन्द्रीय मन्त्री हरसिमरत कौर बादल र हरदीप सिंह पुरी करिडोर उद्घाटनमा सहभागी भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै