• २०८३ मङ्सिर १३ आइतबार

भारतमा लोकसभाको ५० प्रतिशत सिट बढाउन प्रस्ताव

भारतमा लोकसभाको ५० प्रतिशत सिट बढाउन प्रस्ताव

काठमाडौं । भारत सरकारले निर्वाचन क्षेत्र पुनर्निर्धारण र महिला आरक्षणसम्बन्धी नयाँ विधेयक अघि बढाएसँगै भारतीय संसद्को संरचनामा ठूलो परिवर्तन हुने भएको देखिएको छ । नयाँ प्रस्तावअनुसार हाल ५४३ सदस्य रहेको लोकसभाको सिट संख्या बढाएर ८१६ पुर्‍याउने तयारी गरिएको छ । यससँगै राज्य विधानसभाको सिट संख्या पनि ५० प्रतिशत बढाउने प्रस्ताव गरिएको छ ।

भारतमा निर्वाचन क्षेत्र पुनर्निर्धारण भन्नाले जनसंख्याको अवस्था र राजनीतिक प्रतिनिधित्वलाई ध्यानमा राखेर निर्वाचन क्षेत्रको सीमा तथा संसद् र विधानसभामा राज्यले पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया हो । यस प्रक्रियामा कुन क्षेत्रमा कति जनसंख्या रहने, कुन भूभागलाई एउटै निर्वाचन क्षेत्रमा समेट्ने र कुन निर्वाचन क्षेत्र महिला तथा अनुसूचित जाति र जनजातिका लागि आरक्षित गर्ने भन्ने निर्णय गरिन्छ ।

अहिले भारतको लोकसभामा ५४३ निर्वाचित सिट छन् । नयाँ प्रस्ताव पारित भए प्रत्येक राज्य र केन्द्रशासित प्रदेशको विद्यमान सिट संख्यामा ५० प्रतिशत वृद्धि हुनेछ । यसरी लोकसभाको कुल निर्वाचित सिट संख्या ८१६ पुग्ने प्रस्ताव छ । संविधान संशोधनमार्फत लोकसभाको अधिकतम सदस्य संख्या पनि ५५० बाट बढाएर ८५० पुर्‍याउने प्रस्ताव गरिएको छ । यसमा राज्यबाट बढीमा ८१५ र केन्द्रशासित प्रदेशबाट ३५ सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यसैगरी, नयाँ विधेयकको अर्को महत्त्वपूर्ण पक्ष महिला आरक्षण हो । प्रस्तावअनुसार लोकसभा र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गरिनेछ। सिट संख्या बढाएर आरक्षण लागू गर्दा अहिले निर्वाचित सांसदको प्रतिनिधित्वमा ठूलो कटौती नगरी महिलालाई थप अवसर दिन सकिने सरकारको तर्क छ । यसबाट संसद् र प्रदेशसभामा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

विधेयक पारित भएपछि सरकारले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन गर्नेछ । आयोगको नेतृत्व सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशले गर्ने प्रस्ताव छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त वा उनले तोकेको निर्वाचन आयुक्त तथा सम्बन्धित राज्यका निर्वाचन आयुक्त पनि रहनेछन् । आयोगले जनसंख्याको विवरण, भौगोलिक अवस्था र प्रतिनिधित्वलाई आधार बनाएर निर्वाचन क्षेत्रको नयाँ सीमा निर्धारण गर्नेछ। प्रारम्भिक प्रस्ताव सार्वजनिक गरेपछि सम्बन्धित क्षेत्रमा जनसुनुवाइसमेत गरिनेछ ।

नयाँ प्रस्तावमा जनगणना र निर्वाचन क्षेत्र पुनर्निर्धारणलाई अलग गरिएको छ । भारतमा सन् २०२१ मा हुनुपर्ने जनगणना कोभिड महामारीका कारण हुन सकेको थिएन । नयाँ जनगणना र त्यसको अन्तिम विवरण पर्खिँदा निर्वाचन क्षेत्र पुनर्निर्धारण तथा महिला आरक्षण कार्यान्वयनमा थप ढिलाइ हुने सरकारको भनाइ छ । त्यसैले नयाँ विधेयकमार्फत जनगणनाको प्रक्रिया पूरा नभए पनि निर्वाचन क्षेत्र पुनर्निर्धारण अघि बढाउने बाटो खोल्न खोजिएको हो ।  

यसअघि सन् २०२६ अप्रिलमा सरकारले ल्याएको परिसीमन र महिला आरक्षणसम्बन्धी विधेयक लोकसभामा आवश्यक दुईतिहाइ समर्थन नपाएपछि पारित हुन सकेको थिएन । त्यसबेला जनसंख्याका आधारमा सिट संख्या बढाउँदा दक्षिण भारतीय राज्यको प्रतिनिधित्व घट्न सक्ने भन्दै विरोध भएको थियो । नयाँ प्रस्तावमा सबै राज्यको सिट संख्या समान अनुपातमा ५० प्रतिशत बढाउने व्यवस्था गरेर उक्त असन्तुष्टि सम्बोधन गर्न खोजिएको छ ।

दक्षिण भारतीय राज्यले लामो समयदेखि जनसंख्या नियन्त्रण र परिवार नियोजनका नीतिमा सफलता हासिल गरेका छन् । तर जनसंख्याका आधारमा मात्रै सिट बढाउँदा उत्तर प्रदेश र बिहारजस्ता बढी जनसंख्या भएका राज्यको राजनीतिक प्रभाव बढ्ने तथा दक्षिणका राज्यको प्रतिनिधित्व तुलनात्मक रूपमा कमजोर हुने उनीहरूको चिन्ता छ । नयाँ प्रस्तावले सबै राज्यको विद्यमान सिट अनुपात कायम राख्ने भएकाले यो विवाद कम हुने सरकारको अपेक्षा छ ।

नयाँ विधेयकले भारतको आगामी निर्वाचन र राजनीतिक समीकरणमा समेत ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ । विधेयक पारित भए भारतीय जनता पार्टीले यसलाई महिला सशक्तीकरण र संसदीय प्रतिनिधित्व विस्तारको ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्न सक्नेछ । अर्कोतर्फ निर्वाचन क्षेत्रको सीमा परिवर्तनले विभिन्न राज्यको राजनीतिक प्रभाव, जातीय तथा सामाजिक समीकरण र चुनावी परिणाममा समेत असर पार्न सक्ने भन्दै विपक्षी दलहरूले निष्पक्षताको प्रश्न उठाएका छन् ।

यसरी नयाँ विधेयक केवल लोकसभाको सिट संख्या बढाउने विषयमा सीमित छैन । यसले भारतको संसदीय प्रतिनिधित्व, महिला सहभागिता, उत्तर र दक्षिण भारतीय राज्यबीचको राजनीतिक सन्तुलन तथा आगामी निर्वाचनको स्वरूप नै परिवर्तन गर्न सक्ने भएकाले यसलाई भारतको महत्त्वपूर्ण राजनीतिक र संवैधानिक परिवर्तनका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै