• २०८३ मङ्सिर १३ आइतबार

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग ४–० गोलअन्तरले पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु समर्थकमाझ लज्जास्पद हार बेहोरेको हो ।

ब्रेन्टफोर्डको जितमा क्यालम विल्सनले दुई गोल गरे भने क्रिस्टोफर आयर र केभिन शाडेले एक–एक गोल गरे । खेलको १९औँ मिनेटमा डाङ्गो ओउटाराको पासमा विल्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनले नै ३२औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा युनाइटेडले गोलका केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कने प्रयास गरे पनि ब्रेन्टफोर्डको रक्षापंक्ति तोड्न सकेन । खेलको ८२औँ मिनेटमा क्रिस्टोफर आयरले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता ३–० पुर्‍याए । इन्जुरी समयको पहिलो मिनेटमा केभिन शाडेले चौथो गोल थपेपछि ब्रेन्टफोर्डले ४–० को शानदार जित सुनिश्चित गर्‍यो । 

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मौरिसियो पोचेटिनोका लागि यो घरेलु मैदानमा पहिलो खेल थियो । तर उनको सुरुआत सुखद बन्न सकेन। यसअघि लिभरपुलसँग पनि युनाइटेड ४–० ले पराजित भएको थियो । लगातार दुई लिग खेलमा चार गोलको हार बेहोरेपछि टोलीमाथि दबाब थपिएको छ ।

खेलपछि युनाइटेडका समर्थकले खेलाडीलाई हुटिङ गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । यस हारसँगै युनाइटेड १२ खेलबाट ८ अंक जोड्दै तालिकाको १९औँ स्थानमा रहेको छ। ब्रेन्टफोर्ड भने २० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

ब्रेन्टफोर्डले सन् १९३७ पछि पहिलोपटक ओल्ड ट्राफोर्डमा जित निकालेको हो । युनाइटेडले सन् १९६३ पछि पहिलोपटक लगातार दुई लिग खेलमा चार वा सोभन्दा बढी गोलको हार बेहोरेको छ ।

यस सिजनमा खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक माइकल क्यारिकलाई हटाएर माउरिसियो पोचेट्टीनोलाई भित्र्याएपनि म्यानचेस्टर युनाइटेडको हारको सिलसिला रोकिएको छैन । पोचेट्टीनो आएपछि खेलेका ३ खेलमा २ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै