काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेषज्ञ स्वास्थ्य सेवालाई प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ ।
मन्त्रालयका अनुसार एमडी, एमएस र एमडीएस उत्तीर्ण गरेका चिकित्सकलाई प्रदेशगत रूपमा परिचालन गरिएको हो । यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने नागरिकको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीमा २०८, कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना विशेषज्ञ चिकित्सक खटाइएको छ ।
खटाइएका ८३८ चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिचालन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
संघीय सरकारले प्रदेशमा खटाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा रहेको जनाएको छ ।
यस व्यवस्थाबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका उपचार सेवा थप सुदृढ हुनेछन् ।
विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा विशेषज्ञ चिकित्सकको उपलब्धताले सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।









