सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ ।
बिहीबार सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो ।
आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा रहेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो । गण्डकीको जितमा आशिष गुरुङले दुई गोल गरे भने लछु थापा, सुदीप गुरुङ र टेकराज गुरुङले एक एक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज दिउँसो २: ३० बजे हुने अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका छ ।









