• २०८३ मङ्सिर ८ मंगलबार

अभिनेत्री अञ्जना बराइली भन्छिन्- ‘सिन्दुरे जात्रा' मा नबोलेरै विद्रोह गरेकी छु

अभिनेत्री अञ्जना बराइली भन्छिन्- ‘सिन्दुरे जात्रा' मा नबोलेरै विद्रोह गरेकी छु

काठमाडौं । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन् ।

नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन् ।

कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि थुप्रै कलाकार, निर्माता र प्राविधिक अरु नै रहेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग यो सिनेमा नमिल्ने र त्यसको सिक्वेल जस्तो पनि नरहेको उनको दाबी छ ।

‘सिन्दुरे जात्रा’ महिलाकथा प्रधान सिनेमा रहेको उनले बताइन् । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा सिनेमामा रहेको उनले प्रस्ट पारेकी छन् ।

तर, सरोज पौडेलको निर्देशन रहेको सिनेमा न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्ष/विपक्षमा नदेखिने उनले बताएकी छन् । “हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।”

उनले आफूले सिनेमामा मौन विद्रोह गरेको उनले जानकारी दिएकी छन् । तर, कस्तो विद्रोह त्यो भने उनले प्रष्ट पारेकी छैनन् ।

चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

मंसिर १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै