काठमाडौं । हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो।
बक्सअफिसमा औसत व्यापार गरे पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र केही हलमा अझै प्रदर्शन भइरहेको छ। अन्य चलचित्र हलबाट बाहिरिसक्दा पनि दर्शकको प्रतिक्रियाका कारण ‘बाः एक योद्धा’ प्रदर्शनमा कायम रहेको निर्माण पक्षले जनाएको छ।
उपलब्ध बक्सअफिस विवरणअनुसार चलचित्रले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ कुल कमाइ गरेको छ। निर्देशक लम्सालको पहिलो निर्देशनमै चलचित्र ५१औँ दिनसम्म प्रदर्शन हुन सफल भएको हो। पारिवारिक भावना, बुवाको त्याग र सङ्घर्षलाई मुख्य विषय बनाइएको चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण र वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई प्रस्तुत गरेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका लेखक तथा निर्देशक हरि लम्साल हुन्। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन निर्माता र कृष्ण काफ्ले सहनिर्माता रहेका छन् ।









