काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । मङ्सिर २ र ३ गते कार्की बैंक्वेटमा आयोजित भेलामा देशभर तथा प्रवासबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भएका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ ।
भेलाले वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन र स्वेच्छाचारी शासन सञ्चालन गरेको आरोप लगाउँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेको छ । साथै, महँगी नियन्त्रण, सुकुम्बासी समस्या समाधान, बाढीपीडितको पुनर्स्थापना र राष्ट्रिय हितको संरक्षणमा सरकारको ध्यानाकर्षण गराएको छ ।
विशेष सङ्कल्पमार्फत पार्टीलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, कमजोरी सुधार्ने, युवा पुस्तासँग संवाद बढाउने तथा जनताका समस्या समाधानका लागि अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
भेलाले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यकर्तालाई जनतामाझ जान निर्देशन दिएको छ । साथै, लोकतन्त्र र संविधानको रक्षा तथा राष्ट्रिय हितका विषयमा अन्य राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्न आह्वान गरेको छ ।
राष्ट्रिय भेलाका सङ्कल्प:
- हामी असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने छौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने छौँ ।
- हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।
- गतः वर्ष व्यहोर्नु परेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने छौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचन मार्फत् यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।
- हामी पार्टीले गरेका ऐतिहासिक कामहरुप्रति गर्व गर्छौँ । कमी-कमजोरीहरुलाई बिना मोलाहिजा सच्याउँने छौँ । सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।
- हामी जनताको बिचमा जानेछौँ । उहाँहरुका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ । तिनलाई आत्मसात गर्नेर्छौं ।
- युवा पुस्तासँग संवाद गर्नेछौँ । उहाँहरुको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरुसँग सहकार्य गर्नेर्छौँ र आन्दोलनमा उहाँहरुको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेर्छौँ ।
- हामी जिम्मेवारी लिँदा लिएको शपथ ग्रहणप्रति हमेशा प्रतिबद्ध रहने छौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने छौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचार संहिताको अक्षरशः पालना गर्नेछौँ ।
- पार्टी पङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेर्छौँ र जनताको सेवकका रुपमा स्थापित हुनेछौँ ।
- कतिपय नेता कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउनेछौँ । स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रुपमा नेकपा (एमाले) को छविलाई थप उज्यालो बनाउनेछौँ ।
- निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरुप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टी उम्मेदवारलाई विजय बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।
- महङ्गी, अभाव, विस्थापन, वेरोजगारी, विभेद, बसाइसराइँ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउने छौँ । समाधानका लागि पहल गर्नेछौँ । सुखदुःखमा हमेशा जनताको साथमा रहनेछौँ ।
- अधिवेशन र बैठकहरुमा स्वस्थ वहस गर्ने छौँ । सहमति निर्माणको प्रयास गर्नेर्छौँ । लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेर्छौँ ।
- गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेर्छौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ । सार्वजनिक रुपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्र्नेर्छौँ ।
- असहमतिहरुलाई सम्मान गर्नेछौँ । असझदारी र अस्वस्थता हटाउने छौँ । सबै कमरेडहरुलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेर्छौँ । सिङ्गो पार्टीको उर्जालाई एकजुट बनाउन हरसंभव प्रयत्न गर्नेर्छौँ ।
- हामी आफ्नो जिम्मेवारीलाई गंभीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरुतिर औँला तेस्र्याएर आफू दायित्वबाट पञ्छिने छैनौँ ।
- महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरुप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरुको दुरुपयोगप्रति घृणा गर्नेर्छौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।
- हामी विश्वास गर्छौँ- पार्टीको शक्तिका स्रोत जनविश्वास हो । नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ । राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रुपान्तरण र सामाजिक रुपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।









