काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
चौधरीले सेवा प्रवेश तथा बढुवा र पदस्थापनका लागि भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका विभिन्न शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनले पेस गरेका प्रमाणपत्रमा प्राप्ताङ्क विवरण, अस्थायी प्रमाणपत्र, कलेज छाडेको प्रमाणपत्र, आचरण प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्र रहेका छन् । ती प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको र तिनकै आधारमा उनी प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) सम्म बढुवा तथा पदस्थापन भएको आयोगको दाबी छ ।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी पद, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार सजाय माग गरिएको छ ।
आयोगले उनलाई कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।









