काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय भेला सम्पन्न भएपछि स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका गतिविधि अघि बढाउने भएको छ ।
एमाले महासचिव शंकर पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेलाले पार्टीलाई नयाँ लयमा अघि बढाउन सहयोग गर्ने र त्यसपछि पार्टी निर्वाचन केन्द्रित हुने बताएका हुन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेले स्थानीय तह निर्वाचनलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए । उनले स्थानीय तहलाई बलियो बनाउने काममा एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संविधान निर्माणदेखि कानुन सुधारसम्म पार्टीले स्थानीय तहको सुदृढीकरणका लागि पहल गर्दै आएको दाबी गरे ।
उनले राष्ट्रिय भेलामार्फत पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने प्रयास भइरहेको जानकारी दिए । केही विषय अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गरिसकेको र बाँकी विषय आगामी दिनमा सम्बोधन हुने उनको भनाइ थियो ।
यसैबीच, महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यशैली अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी रहेको आरोप लगाउँदै आफ्नै पार्टीका नेताहरूसँग समेत संवाद हुन छाडेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रहसमेत गरेका छन्।









