काठमाडौँ । बेलायतका राजकुमार विलियम र उनकी पत्नी केट मिडलटन तीनदिने भारत भ्रमणका लागि सोमबार मुम्बई पुगेका छन् । उनीहरूलाई भारतीय क्रिकेटका पूर्वखेलाडी सचिन तेन्दुलकरले स्वागत गरेका थिए ।
मुम्बईको बलार्ड एस्टेटमा आयोजित कार्यक्रममा विलियम र केटले गल्ली क्रिकेटसमेत खेलेका थिए । खेलका क्रममा सचिनले फिल्डिङ गरेका थिए भने एक बालिकाले बलिङ गर्दै विलियमलाई बोल्ड गरेकी थिइन् ।
उनीहरू नोभेम्बर १७ मा आयोजना हुने ‘अर्थसट पुरस्कार’ समारोहमा सहभागी हुनेछन् । उक्त पुरस्कार वातावरण संरक्षणका क्षेत्रमा नवीन समाधान खोज्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । यस वर्ष पाँच विजेतालाई जनही १० लाख पाउन्ड प्रदान गरिनेछ ।
भ्रमणका क्रममा विलियमले मुम्बईको मेट्रोमा यात्रा गर्नेछन् भने केटले अस्पताल भ्रमण गर्ने कार्यक्रम छ । उनीहरूले वातावरण संरक्षण, नयाँ प्रविधि, चलचित्र र भारतीय संस्कृतिसँग सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् ।
नोभेम्बर १८ मा उनीहरू नयाँदिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । विलियम र केटको यो दोस्रो औपचारिक भारत भ्रमण हो । यसअघि उनीहरू सन् २०१६ को अप्रिलमा भारत आएका थिए ।









