• २०८३ कार्तिक २१ शनिबार

इरानले भूमिगत क्षेप्यास्त्र केन्द्र र हतियार उत्पादन क्षमता बढाएको दाबी

इरानले भूमिगत क्षेप्यास्त्र केन्द्र र हतियार उत्पादन क्षमता बढाएको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को एयरोस्पेस फोर्सले आफ्नो सैन्य प्रविधि र रक्षा क्षमतामा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ ।

उसले भूमिगत क्षेप्यास्त्र केन्द्र निर्माण, क्षेप्यास्त्र तथा मानवरहित विमान उत्पादन र सैन्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा काम भइरहेको जनाएको छ । अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीका अनुसार आईआरजीसीका अधिकारीहरूले आफ्नो विशेष स्मृति सप्ताहका अवसरमा सैन्य उपलब्धिबारे जानकारी दिएका थिए ।

सम्मेलनमा आईआरजीसीका प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेब्बीले एयरोस्पेस सप्ताह आफ्ना शहीद सैनिक, पूर्वसैनिक, कमान्डर तथा उनीहरूका परिवारप्रति सम्मान व्यक्त गर्ने अवसर भएको बताएका थिए । यसले एयरोस्पेस फोर्सका उपलब्धि र गतिविधि सार्वजनिक गर्ने अवसरसमेत प्रदान गर्ने उनको भनाइ थियो ।

मोहेब्बीले इरानले आफ्नै प्रविधि र भौगोलिक अवस्थाको उपयोग गर्दै ठूलो सङ्ख्यामा भूमिगत क्षेप्यास्त्र केन्द्र निर्माण गरेको बताएका थिए । उनका अनुसार पछिल्ला सैन्य द्वन्द्वपछि इरानको हवाई रक्षा प्रणालीमा तीव्र परिवर्तन आएको छ । अमेरिकाले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीका क्रममा इरानी हवाई रक्षा इकाइहरूले विपक्षीका २६० विमानलाई रोकेको र खसालेको उनको दाबी थियो ।

उनले बमबारीका बीच पनि क्षेप्यास्त्र र मानवरहित विमानको उत्पादन जारी राखिएको बताएका थिए। उत्पादन केन्द्रहरूलाई जमिनमाथिबाट भूमिगत स्थानमा सार्दै उत्पादन क्षमतालाई निरन्तरता दिएको उनको भनाइ थियो । मोहेब्बीले पछिल्लो एकदेखि दुई साताको अवधिमा सात वटा एमक्यूएम–१७० जासुसी मानवरहित विमान सुरक्षित रूपमा नियन्त्रणमा लिएको दाबी गरेका थिए ।

उनले यसलाई इरानको प्राविधिक क्षमताको प्रमाणका रूपमा प्रस्तुत गर्दै भविष्यमा पुनः युद्ध भए आईआरजीसीको एयरोस्पेस फोर्सले नयाँ क्षमता प्रदर्शन गर्ने बताएका थिए । स्मृति सप्ताहका क्रममा विशेष सैन्य उपकरणहरू सर्वसाधारणले नजिकबाट अवलोकन गर्न सक्ने गरी प्रदर्शन गरिने जानकारी पनि उनले दिएका थिए ।

इरानले आफ्नो रक्षा क्षमता विस्तारका लागि तीन प्रमुख आधारमा काम गरिरहेको मोहेब्बीले बताएका थिए । पहिलो आधार एयरोस्पेस क्षेत्रमा स्वदेशी वैज्ञानिक क्षमता विकास गर्नु रहेको उनले उल्लेख गरेका थिए। यसअन्तर्गत देशभित्रै दक्ष जनशक्ति र प्रविधि विकासमा जोड दिइएको छ ।

दोस्रो आधार रक्षा तथा आक्रमणमा प्रयोग हुने हतियार उद्योगको विकास रहेको उनको भनाइ थियो। पहिले अन्य देशबाट सैन्य सामग्री खरिद गर्ने इरान अहिले एयरोस्पेस क्षेत्रमा हतियार निर्यात गर्ने देश बनेको उनले दाबी गरेका थिए ।

तेस्रो आधार सैन्य उपकरणका लागि विदेशी मुलुकमाथिको निर्भरता अन्त्य गर्दै पूर्ण आत्मनिर्भरता हासिल गर्नु रहेको उनले बताएका थिए। यस नीतिअन्तर्गत सैन्य हतियार र त्यसका आवश्यक पाटपुर्जा स्वदेशी प्रविधि तथा जनशक्तिबाट उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै