• २०८३ कार्तिक २१ शनिबार

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज टर्की जाँदै

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज टर्की जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्की जान लागेका छन् ।

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्नेछन् । त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनमा समेत उनी सहभागी हुनेछन् ।

मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘पर्वतीय कार्यसूचीको प्रवर्द्धन : हिमनदी, हिमक्षेत्र र जलवायु उत्थानशीलता’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

उनले सम्मेलनका अन्य साइड इभेन्टमा सहभागी हुनुका साथै विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारी सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै