• २०८३ कार्तिक २० शुक्रबार

नेपालमा हुने विश्वकप छनोटको प्लेअफमा सहभागी हुने आठ देशको टुंगो, यस्तो छ खेल तालिका

नेपालमा हुने विश्वकप छनोटको प्लेअफमा सहभागी हुने आठ देशको टुंगो, यस्तो छ खेल तालिका

काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना हुने जानकारी दिदै खेल तालिका समेत सार्बजनिक गरिएको हो ।

प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) ले ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ ।

प्रतियोगिताका खेल काठमाडौंको टियु क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले टियु क्रिकेट मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन माथिल्लो मूलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डाबीच खेल हुनेछ ।

नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग खेल्नेछ । नेपालका सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् ।  डिसेम्बर ५ मा यूएई र जर्सीबीच टियु मैदानमा तथा कुवेत र क्यानडाबीच माथिल्लो मूलपानीमा खेल हुनेछ । डिसेम्बर ७ मा कुवेत र जर्सी तथा क्यानडा र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, डिसेम्बर ९ मा क्यानडा र इटाली तथा जर्सी र युगान्डा, १० मा नेपाल र यूएई तथा कुवेत र नामिबिया, १२ मा नेपाल र जर्सी तथा नामिबिया र क्यानडाबीच खेल हुनेछ। डिसेम्बर १३ मा युगान्डा र कुवेत तथा यूएई र इटाली, १४ मा नेपाल र क्यानडा तथा जर्सी र नामिबिया, १५ मा युगान्डा र इटाली तथा यूएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

डिसेम्बर १७ मा इटाली र कुवेत तथा जर्सी र क्यानडा, १८ मा नेपाल र नामिबिया तथा युगान्डा र यूएई, २० मा नामिबिया र यूएई तथा इटाली र जर्सीबीच खेल हुनेछ। प्रतियोगिताको अन्तिम दिन डिसेम्बर २१ मा नेपाल र कुवेत तथा क्यानडा र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल छनोटमा यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले स्थान सुरक्षित गरिसकेका छन् । वेस्ट इन्डिज र आयरल्यान्डले सन् २०२७ को विश्वकपमा स्वतः छनोट भएका टोलीबाहेकका उच्च वरीयताका टोलीका रूपमा ग्लोबल छनोटमा स्थान बनाएका हुन् । दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजक तथा पूर्ण सदस्य राष्ट्रका रूपमा स्वतः छनोट भएका छन् । अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चार स्थान हासिल गर्दै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् । नेपालमा हुने प्लेअफबाट छनोट भएका चार टोलीसहित ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपको समूह चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोली भने नयाँ संरचनाअनुसार गठन गरिएको सुपर सिरिजमा सहभागी हुनेछन् । सन् २०२७ को पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् भने १२ वटा मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै