काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष दुई विषय समेटिएको ज्ञापनपत्र बुझाएको हो ।
पार्टीले स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको माध्यम बनाउनुपर्ने जनाएको छ । स्थानीय तहको नेतृत्व चयन गर्दा दलीय आबद्धताभन्दा उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, कार्ययोजना र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उसको धारणा छ ।
त्यस्तै, रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पार्टीले माग गरेको छ । विदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन सरल, सुरक्षित र कम खर्चिलो मतदान प्रणाली आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनका लागि उपयुक्त मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको घिसिङले बताएका छन् । निर्वाचन सुधारका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको धारणा पनि आयोगका तर्फबाट व्यक्त गरिएको उनले उल्लेख गरेका छन् ।









