• २०८३ कार्तिक ११ बुधबार

काठमाडौं महानगरबाट ४३ महिनामा एक लाखभन्दा बढीलाई निःशुल्क कानुनी सेवा

काठमाडौं महानगरबाट ४३ महिनामा एक लाखभन्दा बढीलाई निःशुल्क कानुनी सेवा

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा एक लाख ६०६ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । 

कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कोही पनि कानुनी तथा प्रशासनिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले न्यायमा पहुँच बढाउन महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएकी छन् ।

२०७९ चैत २ गतेदेखि सुरु भएको सेवाबाट ४२ हजार १८८ जना महिला, ११ हजार ४६३ जना ज्येष्ठ नागरिक, ४५६ जना अपाङ्गता भएका व्यक्ति र १७५ जना बालबालिका लाभान्वित भएका छन् । औसतमा दैनिक ११५ जना र मासिक तीन हजार ४५७ जनाले सेवा प्राप्त गरिरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले नेपाल ल क्याम्पसलगायत सात शैक्षिक संस्थाका कानुन विषयका ३१३ जना विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा परिचालन गरी सेवा दिँदै आएको छ । सेवाअन्तर्गत निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तरपत्र तथा मिलापत्रको मस्यौदा तयार गर्ने र कानुनी प्रक्रिया सम्बन्धी जानकारी दिने गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोलले वडा तहसम्म न्यायिक सेवा विस्तार गर्दा स्थानीय विवाद समाधान गर्न सहज भएको र मुद्दामामिलामा हुने खर्चसमेत बचत भएको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निःशुल्क कानुनी सेवालाई सुशासनको महत्त्वपूर्ण आधारका रूपमा थप सुदृढ बनाउँदै लैजाने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै