• २०८३ कार्तिक १२ बिहीबार

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मुस्ताङ । सम्भावित वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रशासनका अनुसार उक्त अवधिमा गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र उक्त अवधिमा सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ। वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट बच्न आवश्यक पूर्वतयारी गर्न तथा मौसमको अवस्थाबारे जानकारी लिइरहन सम्बन्धित सबैलाई आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र प्रतिकूल मौसममा विशेष सावधानी अपनाउनसमेत सूचनामार्फत अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै