• २०८३ कार्तिक ९ आइतबार

एनपीएल हेर्न देशभर १० स्थानमा एक्स्ट्रिमको फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न देशभर १० स्थानमा एक्स्ट्रिमको फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनक देशभर फैलाउन एक्स्ट्रिम इनर्जी ड्रिंकले देशका विभिन्न १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका खेल ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ ।

काठमाडौँ उपत्यकामा कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको दोस्रो गेटअगाडिको मैदानमा फ्यान जोन राखिनेछ । उपत्यकाबाहिर धनगढीको कबर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस परिसर, जनकपुरको बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा पनि फ्यान जोन सञ्चालन गरिनेछ ।

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने एक्स्ट्रिमको योजना छ । त्यहाँ खेलको प्रत्यक्ष प्रसारणसँगै सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछन्। दर्शकले खेलकुद गतिविधिमा सहभागी हुने र आकर्षक उपहारसमेत प्राप्त गर्ने अवसर पाउनेछन् ।

एनपीएलप्रतिको बढ्दो आकर्षणलाई क्रिकेट मैदानबाहिरका सहरसम्म पुर्‍याउने उद्देश्यले यो पहल गरिएको कम्पनीले जनाएको छ । रंगशालामा पुग्न नसक्ने क्रिकेटप्रेमीले पनि आफ्नै सहरमा साथीभाइसँग बसेर ठूलो पर्दामा खेल हेर्दै आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न सक्नेछन् ।

प्रतियोगिताका क्रममा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको उत्साह र हुटिङले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ । क्रिकेट, संगीत र मनोरञ्जनलाई एउटै स्थानमा जोड्ने यो पहलले प्रतियोगिताभर देशका विभिन्न सहरमा क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला गराउने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै