काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ । आजदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने तालिका रहेको छ ।
तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि शुरु हुदैछ ।
आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ । साथै आधिकारीक च्यानलबाट प्रत्यक्ष खेलहरु हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न क्यानका सचिव पारस खड्काले अपिल समेत गरेका छन् ।
यो सिजन विशेष:
एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको हो । क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ । आइसीसीको मान्यतासँगै यस सिजनका सबै खेलले आधिकारिक टी–२० को मान्यता पाएका छन्, जसबाट यी खेलहरुमा बन्ने रन र लिने विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन् ।
अर्कोतर्फ आइसीसीको मान्यतापछि धमाधम अन्तर्राष्टिय क्रिकेटका सुपरस्टार खेलाडीहरु एनपीएलमा भित्रिने वातावरण पनि बनेको छ । यसअघि आधिकारिक मान्यता नहुँदा सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिचकिचाउने गरेका थिए । साथै अब फ्रेन्चाइज टोलीहरूलाई टेस्ट राष्ट्रका सक्रिय खेलाडी भित्र्याउन कुनै समस्या नहुने भएको छ । अब फ्रेन्चाइजीले एक एसोसियटससहित कुल आठ विदेशी खेलाडी भित्राउन सक्ने भएका छन् । प्लेइङ–११ मा भने अधिकतम चार जना विदेशी खेलाडी तथा कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्ने नियम बनाइएको छ ।
त्यस्तै यस सिजनलाई विशेष बनाउने अर्को महत्वपूर्ण स्टेप हो डीआरएस अर्थात् ‘डिसिजन रिभ्यु सिस्टम’ । यो एनपीएलको तेस्रो सिजनमा क्रिकेट र क्रिकेट फ्यानहरुका लागि सबै भन्दा ठुलो कदम हो । डीआरएस प्रणालीअनुसार एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको रेखाङ्कन गर्छ । ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ टेक्नोलोजी जडान गरिएको छ । यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ । प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा रिभ्युको अधिकार पाउनेछन् ।
क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि मा लाग्ने लागत क्यान र आठवटै फ्रेन्चाइजले सहभुक्तानी गर्ने मोडल बनाइएको छ र यसका लागि करिब २ करोड खर्च हुने बताइएको छ । डीआरएसले म्याचको कुल समय करिब ३० मिनेट बढाउने भएकाले समय व्यवस्थापन गर्न क्यानले प्रारम्भिक रूपमा निकालेको खेल तालिकामा ३० मिनेट थप गरेको छ ।
त्यस्तै एनपीएलको तेस्रो सिजनमा म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्ने भएको छ । नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ भने एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन् ।
एनपीएलमा यसअघि पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस खेलेर चर्चा बनाएका थिए भने उनीहरुको आगमनले एनपीएल र समग्र नेपाली क्रिकेटको प्रमोसनमा सहयोग पुगेको थियो । तर यसपटकको एनपीएलमा जोडिएका स्टार खेलाडीहरुका करण यसको रोमाञ्चकता बढ्ने निश्चित देखिएको छ ।
अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दैछन् । त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दैछन् । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड फाबियन एलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । त्यस्तै पाकिस्तानी बलर हसन अली, जिम्बाबेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्दैछन् ।
त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन् भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ ।
पुरस्कार रकम बढ्यो:
तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको छ ।
यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए ।









