काठमाडौं । साउदी अरबको सायबह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेको हो । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ ।
नेपालले विवादको समाधान संवाद, वार्ता र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा गर्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ ।
बुधबार हुथी विद्रोहीले प्रहार गरेको ड्रोनका अवशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको थियो । मृतकको परिचय भने खुलाइएको छैन ।









