काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रत्येक टिमले ६ देखि अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विदेशी खेलाडीको सङ्ख्या बढाइए पनि प्रत्येक टोलीले सात नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृति प्रक्रियाअन्तर्गत खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ र सञ्चारमाध्यमको पहुँचसम्बन्धी मापदण्ड लागू हुने जानकारी दिए ।
अब एनपीएलमा सहभागी हुन आउने खेलाडीले सम्बन्धि बोर्डको एनओसी अनिवार्य लिएर आउनुपर्ने भएको छ । त्यस्तै अब हरेक फ्रेन्चाईजीले एक एसोसियटस खेलाडी अनिवार्यसहित आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् ।
एनपीएल सुरु हुनुअघिको लगातार छ महिनामा आईसीसी र सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृति नपाएका प्रतियोगितामा खेलेका खेलाडी एनपीएलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको उनले बताए । अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनिवार्य रूपमा स्वीकृति प्रमाणपत्र लिनुपर्नेछ ।
खड्काका अनुसार क्यानले आईसीसीले राखेका आवश्यक सर्त स्वीकार गरिसकेको छ । प्रतियोगिताको टी–२० मान्यता, निर्णय समीक्षा प्रणाली (डीआरएस), अम्पायरिङ र खेल सञ्चालनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गरिने उनले बताए ।









