काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्राध्यापक अनिल सुकलालबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक तथा लगानी सहकार्य विस्तार गर्ने र दक्षिण–दक्षिण सहकार्य तथा बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको छ ।
नेपालमा हालै आएको विनाशकारी बाढीबारे पनि उनीहरूले छलफल गरेका थिए । जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउनुपर्ने र जलवायु परिवर्तनविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।









