• २०८३ असोज २२ बिहीबार

ऊर्जामा आधारित अर्थतन्त्रका लागि भरपर्दो नियामकीय वातावरण आवश्यक- मन्त्री श्रेष्ठ

ऊर्जामा आधारित अर्थतन्त्रका लागि भरपर्दो नियामकीय वातावरण आवश्यक- मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता र उपभोक्ताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

विद्युत् नियमन आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले बजारको आवश्यकता र सरोकारवालाको चासोलाई ध्यान दिएर स्पष्ट, अनुमानयोग्य र विश्वासिलो नियामकीय व्यवस्था बनाउनुपर्ने बताए ।

आयोगका अध्यक्ष रामप्रसाद धितालले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । मन्त्री श्रेष्ठले पछिल्ला विपद्का घटनाले ऊर्जा प्रणालीमा विविधीकरण र ऊर्जा सुरक्षा थप बलियो बनाउनुपर्ने आवश्यकता देखाएको बताए ।

आयोगले गत आर्थिक वर्षमा विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच, जलाशययुक्त आयोजनाको विद्युत् खरिद–बिक्री, उपभोक्ता विद्युत् महसुल र विवाद समाधानसम्बन्धी विभिन्न व्यवस्था जारी गरेको जनाएको छ । आयोगले विद्युत् लागत, महसुल संरचना तथा जलविद्युत् उत्पादन र सञ्चालन लागतबारे अध्ययनसमेत अघि बढाएको छ ।

आयोगले आगामी वर्ष संस्थागत सुदृढीकरण, नियामकीय व्यवस्था विस्तार तथा विद्युत् क्षेत्रको पुनःसंरचनामा सहजीकरणलाई प्राथमिकता दिने जनाएको छ । बाढीबाट विद्युत् पूर्वाधारमा भएको क्षतिलाई समेत आगामी नियामकीय काममा समेट्दै विद्युत् प्रणालीलाई थप सुरक्षित र विपद् प्रतिरोधी बनाउने आयोगको तयारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै