सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्। बुधबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते श्रेष्ठलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा जाँच तथा मुटुको परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको छ । मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।









