काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
परिषद्का अनुसार असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि सत्यतथ्य अनुसन्धान गर्न समिति गठन गरिएको हो । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले करणीसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाहेरीका आधारमा पोलिक्लिनिक सञ्चालकसमेत रहेका कोहलपुर–११ का ६३ वर्षीय गणेशबहादुर थापा नियन्त्रणमा छन् ।
प्रहरीका अनुसार थापासँग सीएमए प्रमाणपत्र मात्र रहेको र उपचारका लागि आवश्यक इजाजत नभएको पाइएको छ । उनीविरुद्ध करणीसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा नेपाल मेडिकल काउन्सिलको आचारसंहिता तथा व्यावसायिक आचरणविपरीत कार्य भएको आरोपसम्बन्धी पक्षमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









