मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलाशयमा वर्षायाममा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर चेतावनी दिने व्यवस्था गरिएको जनाएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई साइरनमार्फत पूर्वसूचना दिइनेछ ।
पहिलो चेतावनी स्वरूप करिब एक मिनेट लामो साइरन बजाइनेछ । यस अवस्थामा जलाशयमा पानी भरिन लागेको जनाउँदै खोला किनारमा जुनसुकै उद्देश्यले जान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
दोस्रो चेतावनी स्वरूप करिब दुई मिनेट लामो साइरन बजाइनेछ । यसलाई उच्च सतर्कताको संकेतका रूपमा लिइनेछ । जलाशयको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवतीलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ ।
तेस्रो तथा अन्तिम चेतावनी स्वरूप लगातार छोटो–छोटो अन्तरालमा तीन पटक साइरन बजाइनेछ । यस अवस्थामा बाँधको मुख्य ढोका खोलिएको र नदीको सतह उच्च जोखिममा पुग्न सक्ने भएकाले नागरिकलाई तत्काल खोला किनार तथा गहिरो भाग छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न सूचित गरिएको छ ।









