काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज त्यसतर्फ जादैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल भने आइतबार मै न्यूयोर्क प्रस्थान गरिसकेका छन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) मा काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।









