काठमाडौं । चीन र अमेरिकाले कृत्रिम बौद्धिकतासम्बन्धी जोखिम र सुरक्षाका विषयमा संवाद अघि बढाउने सहमति गरेका छन् । न्यूयोर्कमा आइतबार भएको उच्चस्तरीय वार्ताका क्रममा दुवै पक्षले कृत्रिम बौद्धिकतासँग सम्बन्धित साझा चिन्ता र सुरक्षा जोखिमबारे छलफल गर्न संवाद संयन्त्र बनाउने विषयमा सहमति गरेका हुन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच भएको वार्तामा कृत्रिम बौद्धिकताका कारण उत्पन्न हुन सक्ने राष्ट्रिय सुरक्षा जोखिम, साइबर आक्रमण र महत्वपूर्ण पूर्वाधारको सुरक्षालगायतका विषय उठेका थिए । अमेरिकाले कृत्रिम बौद्धिकतासँग सम्बन्धित गम्भीर सुरक्षा घटनाबारे दुई देशबीच तत्काल जानकारी आदानप्रदान गर्ने संयन्त्रको प्रस्तावसमेत गरेको छ ।
दुवै देश कृत्रिम बौद्धिकताको विकासमा तीव्र प्रतिस्पर्धामा रहे पनि यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई लिएर साझा चासो देखाउँदै आएका छन् । आगामी दिनमा हुने संवादले कृत्रिम बौद्धिकताको सुरक्षित विकास र सम्भावित जोखिम व्यवस्थापनका विषयमा सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच हुने आगामी भेटवार्ताअघि भएको हो । दुई नेताबीचको वार्तामा पनि कृत्रिम बौद्धिकताको सुरक्षा र दुई देशबीच यस क्षेत्रमा संवाद बढाउने विषय उठ्ने अपेक्षा गरिएको छ । राष्ट्रपति सीको यहि सेप्टेम्बर २४ मा राष्ट्रपति ट्रम्पसँग ह्वाइटहाउसमा भेटवार्ता गर्ने तयारी रहेको छ ।









