• २०८३ भदौ ३० मंगलबार

न्याय परिषदबाट न्यायाधीशहरूको सरुवा र पदस्थापन सिफारिस

न्याय परिषदबाट न्यायाधीशहरूको सरुवा र पदस्थापन सिफारिस

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज, नियुक्ति तथा पदस्थापनसम्बन्धी सिफारिस गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार उच्च अदालतका न्यायाधीशहरूको सरुवा तथा काजसँगै नयाँ न्यायाधीश नियुक्तिका लागि समेत सिफारिस गरिएको हो । 

परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा गर्न सिफारिस गरेको छ । त्यस्तै उच्च अदालत जनकपुरका न्यायाधीश मुरारिबाबु श्रेष्ठलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ ।

त्यस्तै, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ । उनी यसअघि उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा काजमा कार्यरत थिए ।

परिषद्ले उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा सरुवा गर्न सिफारिस गरेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश गौरवकर्ण डाँगीलाई सर्वोच्च अदालतमा काजका लागि सिफारिस गरिएको छ ।

त्यस्तै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा कार्यरत न्यायाधीश शुकुन्तला तिमिल्सिनालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा काज गर्न तथा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा सरुवा सिफारिस गरिएको छ ।

त्यसैगरी, उच्च अदालतका न्यायाधीश नियुक्ति तथा पदस्थापनतर्फ सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

त्यस्तै कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीशहरूको सरुवातर्फ पनि परिषद्ले विभिन्न जिल्लाका न्यायाधीशलाई नयाँ जिम्मेवारीका लागि सिफारिस गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेलाई सिन्धुली जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ। उनी यसअघि सिन्धुली जिल्ला अदालतमा काजमा कार्यरत थिए ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललाई कास्की जिल्ला अदालतमा सरुवा गर्न तथा सुनसरी जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीलाई सुनसरी जिल्ला अदालतमै जिल्ला न्यायाधीशका रूपमा कायम गर्न सिफारिस गरिएको छ ।

न्याय परिषद्ले सिन्धुली जिल्ला अदालतका न्यायाधीश विनोद खनाललाई भक्तपुर जिल्ला अदालतमा काजमा रहेको अवस्थाबाट न्याय परिषद्को दरबन्दीअनुसार सरुवा गर्न सिफारिस गरेको छ । त्यस्तै बारा जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ ।

दाङ जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीलाई रौतहट जिल्ला अदालतमा तथा बाजुरा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीलाई सुनसरी जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश दुर्गादेवी गुरुङलाई बारा जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ ।

यसैगरी काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नरेन्द्रबहादुर बढालाई सुर्खेत जिल्ला अदालतमा र सुर्खेत जिल्ला अदालतका न्यायाधीश कमलाकान्त जोशीलाई काठमाडौँ जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद बराललाई दाङ जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद पौडेललाई दार्चुला जिल्ला अदालतमा सरुवा गरिएको छ ।

न्याय परिषद्मा कार्यरत जिल्ला न्यायाधीश अनुपमा पन्तलाई सुनसरी जिल्ला अदालतमा सरुवा गर्न तथा दाङ जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीलाई बाजुरा जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश वासुदेव पाण्डेलाई पनि सुनसरी जिल्ला अदालतमा सरुवा गर्न सिफारिस गरिएको छ ।

यसका साथै सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको जिल्ला न्यायाधीश पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै