काठमाडौँ । भायानेट कम्युनिकेसन्स पब्जी मोबाइल ग्लोबल ओपनको आधिकारिक इन्टरनेट साझेदार बनेको छ । नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय विद्युतीय खेल प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा सञ्चार पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ ।
प्रतियोगितामा स्थिर, निरन्तर र न्यून विलम्बता भएको इन्टरनेट महत्वपूर्ण हुने भएकाले भायानेटले आफ्नो सञ्जालमार्फत आवश्यक सेवा उपलब्ध गराउने जनाएको छ। यसअघि पनि भायानेट पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिपको आधिकारिक इन्टरनेट साझेदार रहेको थियो ।
नेपालमा अन्तर्राष्ट्रियस्तरका गेमिङ प्रतियोगिता बढ्दै गएसँगै विद्युतीय खेल क्षेत्रमा आफ्नो संलग्नता थप विस्तार भएको भायानेटले जनाएको छ ।
भायानेटले आफूलाई नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एकका रूपमा प्रस्तुत गर्दै देशभरका घर तथा व्यवसायलाई उच्चगतिको रेसायुक्त इन्टरनेट तथा डिजिटल सञ्चार समाधान उपलब्ध गराउँदै आएको जनाएको छ। ग्राहकलाई तीव्र, स्थिर र विश्वसनीय सञ्चार सेवा तथा राम्रो सेवाअनुभव प्रदान गर्न सञ्जाल प्रविधि, पूर्वाधार र सेवामा निरन्तर लगानी गर्दै आएको कम्पनीको भनाइ छ ।









